s

सबै आवेदकले इपिएस परीक्षा दिन पाउने

रोजगारीका लागि आफ्नो मुलुक आउन आन्दोलन नै गर्ने युवाप्रति दक्षिण कोरिया सरकारले उच्च सम्मान प्रकट गरेको छ। युवाको उत्कट चाहनालाई बुझेर रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत भाषा परीक्षाका लागि आवेदन दिने सबैलाई परीक्षा गराउन दक्षिण कोरियाको सकारात्मक जवाफ नेपाल सरकारले पाएको छ।

इपिएस निर्देशक मैयाँ कँडेलका अनुसार यस प्रणालीअन्तर्गत पानीजहाज निर्माण (सिप बिल्डिङ) को भाषा परीक्षामा सहभागी भएकाहरू दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा पनि सहभागी हुन पाउने भएका हुन्।

‘आफ्नो देश छाडेर कोरिया आउन युवाले गरेको आन्दोलन भनेकै हाम्रो देशप्रति दर्साएको माया हो,’ कोरियाली मानव संशाधन विभाग (एचआरडी) का एक अधिकारीलाई उद्धृत गर्दै कँडेलले मंगलबार नागरिकसँग भनिन्, ‘हाम्रो देशमा रोजगारीका लागि १२ देशबाट युवा आउने गरेका छन्। ती देशमध्ये सबैभन्दा बढी रोजगारीको क्रममा कोरिया आउने धेरै युवा नेपालबाटै हुन्छन्। त्यो भन्नु नै हाम्रो देशप्रतिको सम्मान हो। त्यो सम्मानलाई हामी मर्न दिँदैनौं।’

वैदेशिक रोजगार विभाग र एचआरडीका अधिकारीबीच श्रम मन्त्रालयमा सोमबार भएको छलफलमा यसअघि पानीजहाज निर्माण क्षेत्रको भाषा परीक्षामा अनुत्तीर्ण भएकाहरूलाई पनि अब हुने उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी गराउन सकारात्मक सहमति आएकोे कँडेलले बताइन्। उक्त सहमतिअनुसार सोमबार विभाग र एचआरडीको बैठकले विवाद टुंग्याएको हो।

कोरिया सरकारबाट सकारात्मक धारणा आएपछि अनुत्तीर्ण युवालाई उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी गराउन तीन चरणबाट परीक्षा हुने जानकारी कँडेलले दिइन्। ‘तीन चरणमा परीक्षा हुन्छ,’ उनले भनिन्, ‘माघको ६ गतेदेखि परीक्षा सुरु हुनेछ।’

विभागका निर्देशक कविराज उप्रेतीले भाषा परीक्षासम्बन्धी अहिले देखिएको जटिलता टुंगिएको जानकारी दिए। परीक्षामा सहभागी हुन यस वर्ष १ लाख ६४ हजार जनाको आवेदन परेको छ। पहिलो चरणमा ४७ हजार, दोस्रोमा ८० हजार र तेस्रो चरणमा ३७ हजार जनालाई उत्पादनमूलकतर्फ परीक्षा दिन लगाइने उप्रेतीले बताए।

सन् २०२३ का लागि सिप बिल्डिङ क्षेत्रसम्बन्धी परीक्षामा सहभागी ३२ हजार जनालाई उत्पादन क्षेत्रका लागि खुलाइएको पुस २ गतेदेखि ६ गतेसम्मको भाषा परीक्षामा आवेदन दिन रोक लगाइएको थियो। ती ३२ हजार जनाले उत्पादन क्षेत्रका लागि खुलाइएको भाषा परीक्षामा आवेदन दिन पाएका थिएनन्। त्यसरी वञ्चित भएकामध्ये केही उच्च अदालत पुगेपछि अदालतले परीक्षामा सहभागी गराउन आदेश दिएको थियो।

अदालतको आदेशपछि परीक्षामा अनुत्तीर्ण सबैले फाराम भर्न पाउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए। त्यही क्रममा दुई युवा प्रहरीबाट मारिएका थिए। त्यसरी अकालमै ज्यान गुमेपछि यो विषय झन् जटिल बनेको थियो। कोरियाली रोजगारीका लागि आन्दोनलमा उत्रिएका दुई नेपाली युवाले अकालमै ज्यान गुमाउनु परेकामा कोरिया सरकारले पनि दुःख प्रकट गरेको कँडेलले बताइन्।

एक कोरियाली अधिकारीलाई उद्धृत गर्दै कँडेलले भनिन्, ‘कोरिया आउने भनेर युवाले गरेका आन्दोलनमा नेपाली दुई युवाको मृत्यु नै भयो। त्यसमा हामी धेरै दुःखी छौं। कोरिया देश आउन नेपाली युवाले गरेको विरोध प्रदर्शनमा कोरिया सरकारको पूरै सम्मान छ।’ गत मंसिर १९ गते कोरियाको पत्रअनुसार विभागले सन् २०२४ का लागि उत्पादनमूलक क्षेत्रमा कामदारका रूपमा लैजान सकिने १५ हजार ८ सय ४८ जना उम्मेदवारको रोस्टर छनोट गर्न भन्दै आवेदन दिनेको योग्यता तोकेको थियो।

Published on: 10 January 2024 | Nagarik

Link

Back to list

;