s

साउदीमा ६ सय नेपालीले काम छाडे

होम कार्की

साउदी अरबको राजधानी रियादस्थित नाबिक कम्पनीमा कार्यरत झन्डै ६ सय नेपाली कामदारले गैरकानुनी अवस्थामा राखेको भन्दै आइतबारबाट काम छाडेका छन् ।साउदी सरकारले गैरकानुनी कामदारलाई धरपक्कड अभियान तीव्र बनाएका बेला उनीहरूले काम छाडेका हुन् । त्यस कम्पनीमा कार्यरत आधाभन्दा बढी नेपाली कामदारलाई भिसा नलगाई काम गराएको भन्दै उनीहरूले छाडेका हुन् । 'हामीलाई कम्पनीले आएदेखि नै भिसा लगाइदिएन,' दोलखाका नवराज कार्कीले कान्तिपुरलाई भने, 'सधैं आश्वासन दिँदै आयो तर भिसा लगाउन पहल नै गरिएन ।' 

भिसा नभएर उनीहरू कम्पनीबाट बाहिरसमेत निस्कन पाएका छैनन् । 'हामी कम्पनीभित्रै कैदी जस्ता भएका छौं,' उनले भने, 'बाहिर निस्के पक्रिहाल्ने स्थिति छ, भित्रै बसिरहेका छौं ।' (परिचयपत्र -अकामा) नभएकाले पीडितहरू नेपाली दूतावाससमेत जान पाएका छैनन् । साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले पीडितको सम्पर्कमा रहेको बताए । 'कम्पनीले भिसा नलगाइराखेको भन्ने जानकारी आएको छ,' उनले भने, 'कामदार दूतावास आउन नसक्ने स्थिति भए हामी प्रतिनिधि पठाउनेछौं ।'

कम्पनीमा ४ वर्षदेखि परिचयपत्र समेत नदिई काममा लगाइएका कामदार पनि छन् । 'हामीलाई कम्पनीले भिसा लगाइदिन्छु, बोनस र टिकट दिन्छु भनेर आश्वासन दिँदा आममाफी प्रक्रियामा सहभागी हुन पाइएन,' कार्कीले भने, 'अहिले निकै समस्या परेको छ ।'

८३ नेपाली पक्राउ

साउदीको दोस्रो सहर दमाममा ८३ जना गैरकानुनी कामदारलाई पक्राउ गरी घरफिर्ती केन्द्रमा राखिएको छ । मामस्थित दूतावास प्रतिनिधि हरिप्रसाद घिमिरेका अनुसार पक्राउ परेकाको घर फिर्ती प्रक्रिया सुरु भइसकेको छ ।

Published on: 11 November 2013 | Kantipur

Back to list

;