s

साउदी जेलमा बसेर ५ हजार जना फर्के

होम कार्की
गैरकानुनी हैसियतमा काम गरेर साउदी अरब बसेका ५ हजार नेपाली कामदार जेल बसेर स्वदेश फिरेका छन् । गैरकानुनी हैसियतमा कार्यरत कामदारले स्वदेश फिर्नुअघि जेल जानुपर्छ । 

साउदीको राजधानी रियादस्थित नेपाली दूतावासका अनुसार वैशाखदेखि माघसम्म ५ हजार तीन सय ५९ जना नेपाली जेल बसेर स्वदेश फिरेको हो । '१० महिनामा ५ हजारका लागि ट्राभल डकुमेन्ट जारी भएको छ,' साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेले भने, 'राहदानी नभएकाको हकमा यस्ता ट्राभल डकुमेन्ट जारी हुन्छ ।' जेल बसेर सबै कानुनी प्रक्रिया पूरा गरेपछि प्रहरीको अनुरोधमा मात्रै दूतावासले ट्राभल डकुमेन्ट जारी गर्ने गरेको छ । साउदीमा म्यानपावर कम्पनीसँग सम्झौता गरेअनुसार कम्पनी, सेवा सुविधा नहँुदा कामदार भाग्ने गरेका छन् । त्यस्ता कामदार ७० हजारभन्दा बढी रहेको अनुमान गरिएको छ । उनीहरूले रियादको हलआयर दमामको एकानब्बे र जेद्दाको जेलमा गएर जेल बस्ने गरेका छन् । उनीहरू सामान्यतया तीन महिनासम्म जेलमा बस्नुपर्ने भरतपुर-, धनुषाका भोला महराले बताए । गैरकानुनी हैसियतमा कार्यरत कामदारलाई जेलमा बस्नुनपर्ने गरी स्वदेश फिर्न चाहेमा साउदी सरकारले आममाफी दिनुपर्छ । साउदीको श्रम मन्त्रीले उच्चस्तरीय सरकारी कार्यक्रममा गैरकानुनी आप्रवासीका लागि आममाफी दिने घोषणा गरेको थियो ।

Published on: 6 March 2013 | Kantipur

Back to list

;