s

सात महिनामै थपिए दुई सय म्यानपावर

उत्तम काप्री

चालु आव २०७४/०७५ को सात महिनामा दुई सय नयाँ म्यापावर दर्ता भएका छन्। थपिएकासहित म्यानपावरको संख्या १४ सय १४ पुगेको छ। सरकारले नयाँ म्यानवापर दर्ता गर्न ६ वर्ष अघि प्रतिबन्द लगाएकामा अदालतको आदेशमा खुलाइएको हो। वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले अदालतबाट आदेश लिई प्रक्रिया पूरा गरेर आएका म्यानपावर दर्ता गरिएको जानकारी दिए। सरकारी नियमअनुसार एउटा म्यानपावर दर्ताका लागि सात लाख नगद, २३ लाखको बैंक ग्यारेन्टी, इजाजतका लागि २० हजार र प्रत्येक वर्ष नवीकरणका लागि १० हजार रुपैयाँ लाग्छ।

नयाँ म्यापावर दर्ता रोक्का भएपछि व्यवसायीले अदालतको आदेशमा धमाधम म्यानपवार दर्ता गरिरहेका छन्। वैदेशिक रोजगार विभागका अनुसार अहिलेसम्म अदालत, पूर्व श्रम तथा रोजगार मन्त्री र प्रधानमन्त्री कार्यालको सिफारिसमा तीन सय ८० म्यानपावर दर्ता भएका छन्।
 
बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ असोज १३ मा नयाँ म्यानपावर दर्तामा रोक लगाएको थियो। तर, २०७२ फागुनमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठसहितको संयुक्त इजलासले प्रक्रिया पुर्‍याएका कम्पनीलाई पेसा र व्यवसाय गर्न रोक नलगाउन फैसला गरेको थियो। योसँगै म्यानपावर दर्ता गर्नेको संख्या बढेको हो।
 
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ अनुसार नयाँ म्यानपावर दर्ता बन्द गर्ने निर्णयको बिरोध गर्दै वर्क फोर्स रिक्रुटिङ प्रालिले म्यानपावर दर्ता गरी पाउ भन्दै अदालतमा मुद्दा दर्ता गराएको थिए।
 
वर्क फोर्स रिक्रुटिङको रिटमा संविधानले दिएको पेसाव्यवसाय गर्न पाउने संवैधानिक हकविरुद्ध सरकारले नयाँ म्यानपावर दर्ता बन्द गराएको उल्लेख थियो।
 
समयमै नवीकरण नगरेको र विभिन्न समयमा कारबाहीमा परी खारेज भइसकेका म्यानपावरको संख्या पनि तीन सय पुगेको छ।
 
भष्ट्राचारको आरोपमा अख्तियारको फन्दामा परेका पूर्वमहानिर्देशक विश्वराज पान्डले अदालतको आदेशअनुसार म्यापवार दर्ता नगरेको भन्दै अवहेलनाको मुद्दा समेत परेको थियो। त्यसपछि भने विभागले अदालतलको आदेशमा प्रक्रिया पुर्‍याएर आएका सबै म्यानपावर कम्पनीको दर्ता गरिरहेको अधिकारी बताउँछन्।
 
यसैगरी विभागले उच्च अदालतका मुद्दा जितेर आएको अल खालिज ओभरसिज, क्लिन ओभरसिज, मादी रिक्रुटम्यान सर्भिस प्रालिसहित २० वटा म्यानपावर पनि दर्ता गत आवमा नै गराइसकेको थियो।
 
यसैगरी ग्रेस, एनएस, नासेर शुभलक्ष्मी इन्टरप्राइजेजलगायत चारवटा म्यानपावर पनि गत आवमा दर्ता भइसकेका छन्। यी म्यानपावर दर्ताका लागि अदालत नगई प्रधानमन्त्री कार्यालयमार्फत पूर्व श्रम तथा रोजगार मन्त्री मन्त्री सूर्यमान गुरुङले रिफारिस गरेका आधारमा दर्ता भएका थिए।
 
यसैगरी तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले पनि २०७१ असार ३० मा सीधै विभागमा रोप इन्टनेसनल र लुलुसहित तीनवटा म्यानवार दर्ता गर्ने सिफारिस गरेकै आधारमा नयाँ दर्ता भएका थिए।
 
माघमा अाधा लाख बाहिरिए कामदार
 
देशमै पर्याप्त रोजगारीको अवसर नहुँदा चालु आव २०७४/०७५ को माघमा ५२ हजारभन्दा बढी युवा रोजगारीका लागि मलेसिया, खाडीलगायत एक सय १० भन्दा बढी मुलुक पुगेका छन्।
 
श्रम स्वीकृति लिएर माघमा ५२ हजार तीन सय ५७ जना युवा विश्वका विभिन्न मुलुकमा पुगेका छन्। यसमा सबैभन्दा बढी नयाँ कामको खोजीमा ३० हजार आठ सय ७७ युवा विदेश पुगेको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारी बताउँछन्। संस्थागत (म्यानपावर)मार्फत विदेश जानेको संख्या २८ हजार चार सय १५ र व्यक्तिगत भिसा र विभिन्न माध्यमबाट जानेको संख्या २४ सय ६२ रहेको अधिकारी बताउँछन्।
 
विभागका अनुसार माघ महिनामा बिदामा नेपाल आई पुनः विदेश जानेको संख्या २१ हजार चार सय ८० जना छन्। चालु आवको माघ महिनामा रोजगारीका लागि विदेश जाने महिलाको संख्या भने दुई हजार ६ सय ३४ छ।
 
यसैगरी चालु आवको पुसमा रोजगारीका लागि बिदेसिएका युवाको संख्या ५३ हजार एक सय २१ थियो। यसैगरी चालु आवको मंसिरमामा ५२ हजार सात सय ९२, कात्तिकमा ६० हजार पाँच सय ७३, असोजमा ४९ हजार एक सय ३०, भदौमा ५१ हजार ७६ र साउनमा ४६ हजार तीन सय ७५ युवा रोजगारीका लागि बिदेसिएका छन्।
 
बढी कामदार जाने पाँच देश
 
चालु आवको माघमा रोजगारीका लागि सबैभन्दा बढी युवा कतार पुगेका छन्। तीन महिनादेखि रोजगारीका लागि मलेसिया जाने कामदारको संख्या बढी थियो। तर, माघ कतार जाने बढेका छन्।
 
रोजगार विभागका अनुसार चालु आवको माघमा नेपालबाट रोजगारीका लागि कतार जानेको संख्या १६ ह।जार नौ सय ५६ छ। माघमा दोस्रो बढी कामदार जाने मुलुक मलेसिया हो। यो महिना ११ हजार दुई सय ७४ जना मलेसिया पुगेका छन्। यसैगरी माघमा तेस्रो बढी कामदार जाने मुलुक दुबई हो। दुबई जाने कामदारको संख्या नौ हजार चार सय २० छ। यसैगरी चोथौ गन्तव्य साउदी अरब जानेको संख्या नौ हजार तीन सय ७३ र पाँच गन्तव्य कुवेत जाने कामदारको संख्या १८ सय १५ रहेको विभागका प्रवक्ता अधिकारी बताएछन्।
 
चालु आवमा बिदेसिएका कामदार
महिना संख्या
 
साउन ४६३७५
 
भदौ ५१०७६
 
असोज ४९१३०
 
कात्तिक ६०५७३
 
मंसिर ५२७९२
 
पुस ५३१२१
 
माघ ५२३५७ जम्मा ३६५४२४
 
स्रोतः वैदेशिक रोजगार विभाग

Published on: 21 February 2018 | Annapurna Post

Back to list

;