s

सात महिनामा चार लाखभन्दा बढी बिदेसिए

काठमाडौँ, फागुन ३ गते । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमा युएई पहिलो श्रम गन्तव्य देश बन्न पुगेको हो ।

चालु आवको सात महिनामा चार लाख पाँच हजार ५५२ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि एक लाख एक हजार ४६१ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ ।

अघिल्लो वर्ष नेपाली श्रमिकको चौथो श्रम गन्तव्य देशका रूपमा रहेको कतार यस आवको सात महिनासम्मको तथ्याङ्क हेर्दा दोस्रो स्थानमा छ ।

यस अवधिमा कतारमा ८० हजार ७२४ जनाले श्रम स्वीकृति लिएर बिदेसिएका छन् । यस्तै तेस्रो र चौथो श्रम गन्तव्य देशमा क्रमशः साउदी अरब र मलेसिया रहेका छन् । यस अवधिमा साउदी अरब जानका लागि ७८ हजार ६६२ जनाले श्रम स्वीकृति लिएका छन् भने चौथो श्रम गन्तव्य देश मलेसियाका लागि ५६ हजार ५५९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै यस अवधिमा कुवेतका लागि २३ हजार १८५ जनाले श्रम स्वीकृति लिएका छन् भने दक्षिण कोरियाका लागि आठ हजार ८४५ जनाले लिएका छन् ।

विभागका अनुसार चालु आव २०८०/८१ को पहिलो सात महिनामा रोजगारीका लागि बिदेसिएकामध्ये सबैभन्दा धेरै मङ्सिरमा गएका छन् । मङ्सिर महिनामा ७१ हजार २७६ युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् । विभागका अनुसार चालु आवको सात महिनामध्ये कात्तिकबाहेक अन्य महिना रोजगारीमा जानेको सङ्ख्या ५० हजारभन्दा माथि छ । कात्तिकमा नेपालीहरूको ठुला चाडपर्व दसैँतिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या कम भएको हो । माघ महिनामा ६२ हजार १४७ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको सुरुदेखि नै युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । गत दुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य रहेकोमा यो वर्षको सुरुदेखि नै युएई पहिलो गन्तव्य देश बन्न सफल भएको उहाँको भनाइ छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको छ महिना (पुस मसान्त) सम्म सात खर्ब ३३ अर्ब २२ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । यो तथ्याङ्क हेर्दा मासिक औसत एक खर्ब २२ अर्ब रुपियाँ भित्रिएको देखिन्छ । यो चालु आवको यस अवधिसम्म आएको विप्रेषण गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशतले धेरै रहेको राष्ट्र बैङ्कले जनाएको छ

गत आवमा सात लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । अघिल्लो आव २०७८/७९ मा छ लाख ३० हजार ९० ले श्रम स्वीकृति लिएर बिदेसिएका थिए ।

विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या हो । यो सङ्ख्या अघिल्लो आव २०७९/८० को तुलनामा कम भए पनि यस वर्ष सुरुवाती महिनाको तुलनामा भने मङ्सिर र पुसमा उच्च दरले बढ्न थालेको देखिएको छ । गत आवको पहिलो सात महिनामा चार लाख ८८ हजार ८३० जना बिदेसिएका थिए ।

Published on: 15 February 2024 | Gorkhapatra

Link

Back to list

;