s

सात जना नेपाली अमेरिकाबाट निष्कासित

शम्भु कट्टेल 

अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निष्कासन गरेको छ । निष्कासित ७ जनालाई विशेष चार्टर्ड जहाजबाट बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ ।जहाज ओर्लनासाथ ती सात नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो । निष्कासन हुनेमा रामेछापका टासी शेर्पा, रुकुमका तारक पुनमगर र धनीमान बुढा, कास्की पोखराका केशव थापा, कास्की हेम्जाका चित्रबहादुर थापा, मकवानपुरका रवीन्द्र बलामी र बागलुङका अमर बस्नेत छन् ।
 
उनीहरू ९ देखि १६ महिनासम्म अमेरिकी अध्यागमनको हिरासतमा बसेका थिए । अमेरिकास्थित नेपाली दूतावासले ती नेपालीको ट्राभल डकुमेन्ट बनाएपछि त्यहाँको अध्यागमनले उनीहरूलाई निष्कासन गरेको थियो । अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले अवैध रूपमा अमेरिका छिरेका सात नेपालीलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको पुष्टि गर्नुभयो ।
 
महानिर्देशक गेलालले अन्नपूर्णसँग भन्नुभयो, ‘यो घटनाले अवैध बाटो हुँदै ज्यानको बाजी राखेर अमेरिका छिर्न खोज्नेले ठूलो पाठ सिक्नुपर्छ । यो घटनाबाट सकारात्मक सन्देश जाओस् भन्ने मेरो चाहना हो ।' मेक्सिकोबाट अमेरिका छिर्ने क्रममा नेपालको राहदानी र आवश्यक कागजपत्र समेत नष्ट गरेपछि अमेरिकाको अध्यागमनलाई पक्राउ परेका कुन मुलुकका हुन् भनेर पत्ता लगाउन समस्या परेको थियो । हिरासतमा राखी निरन्तरको सोधपुछ र बयानपछि पक्राउ परेकाहरूले आफूहरू नेपाली भएको बताएका थिए । त्यसपछि मात्र अमेरिकी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासमा सम्पर्क गराएको थियो ।
 
निष्कासन भएकामध्ये कोहीले यसअघि मध्यपूर्वी मुलुकमा र केहीले दक्षिण कोरियामा काम गरिसकेका छन् । नियमित जहाजमा पठाउँदा बीचबाटै भाग्ने सम्भावना भएको भन्दै अमेरिकी अध्यागमनले विमान चार्टर गरेर उनीहरूलाई काठमाडौं फर्काइदिएको हो । गत नोभेम्बरमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अवैध रूपमा अमेरिका पुगेकाहरूमाथि कडाइ गर्न थालिएको छ ।
 
विभिन्न समयमा अवैध बाटो हुँदै मानव तस्करको सहयोगबाट अमेरिका छिर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । अमेरिका र मेक्सिकोको सीमामा भएको पर्खाल नाघेर भाग्ने क्रममा गस्तीमा रहेको अमेरिकी प्रहरीले आफूहरूलाई पक्राउ गरी जेल पठाएको उनीहरूले बताएका छन् । मध्यरातमा दलालको सुझावबमोजिम मेक्सिको र अमेरिकाको बोर्डरमा रहेको पर्खाल नाघेर भाग्ने क्रममा सीमा गस्तीमा रहेको प्रहरीले उनीहरूलाई विभिन्न समयमा पक्राउ गरेको थियो।
 
अमेरिका, जापान र युरोपमा बस्ने आफन्त र साथीभाइको सुझाव र आर्थिक सहयोगमा उनीहरू दलालमार्फत अमेरिका गएका थिए । २२ देखि ४२ वर्ष उमेर समूहका उनीहरूले अमेरिकासम्म पुग्न प्रतिव्यक्ति ३० देखि ४० लाख रुपैयाँसम्म दलाललाई दिएका थिए । पैसा कमाउने महत्ववाकांक्षा लिएर अमेरिका छिर्न खोज्ने क्रममा सीमा पर्खाल नाघ्दा उनीहरू पक्राउ परेका हुन् । निष्कासितमध्ये केहीले पाँच कक्षासम्म मात्र अध्ययन गरेका छन् भने कोही स्नातक उत्तीर्ण छन् ।
 
नेपालबाट स्थलमार्ग हुँदै भारत पुगी त्यहाँबाट मानव तस्करको सेटिङमा विभिन्न मुलुक हुँदै उनीहरू अमेरिका पुगेका थिए । मानव तस्करको समूहले ती नेपालीलाई आगमन भिसा दिने मुलुक खोज्दै तीनदेखि चार महिना लगाएर मेक्सिकोबाट अप्ठ्यारोसँग अमेरिका छिराएको थियो । मानव तस्करले उनीहरूलाई नेपालबाट स्थलमार्ग हुँदै भारत र त्यहाँबाट इन्डोनेसिया, फिलिपिन्स, थाइल्यान्ड हुँदै मेक्सिको पुर्‍याएका थिए ।
 

Published on: 8 June 2017 | Annapurna Post

Back to list

;