s

सात वर्ष कतारमा 'कोमा'

 
-भाषा शर्मा
 
काठमाडौं- उनी बोल्न, चल्न सक्दैनन्। ह्विलचियरमा बसेर एक टहले हेरिरहेका विष्णुबहादुर सुवेदी सात वर्षपछि नेपाल फर्किएका छन्। स्वदेश फर्कन पाउँदा पनि उनमा कुनै उत्साहउमंगको अनुभूति छैन। सात वर्षदेखि कतारस्थित अस्पतालमा 'कोमा' अवस्थामै रहेका बागलुङ, नारायणस्थानका सुवेदीलाई कतारस्थित हमाद अस्पतालले स्वदेश फिर्ता गर्न दबाब दिएपछि बिहीबार साँझ नेपाल ल्याइएको हो। उनी १८ मार्च २००९ मा कार दुर्घटनामा परेका थिए।
 
नारायणस्थान कैयाका ४१ वर्षे सुवेदी अर्धचेत अवस्थामै ह्विलचियरमा पत्नीसँग नेपाल फर्किएका छन्। दुई छोरा पढाउन गाह्रो भएको भन्दै सुवेदीकी पत्नी पार्वती रोजगारका लागि कतारमै पुगेकी थिइन्। सात वर्ष अघि 'भिजिट भिसा'मा कतार पुगेका उनी सडक दुर्घटनामा परी अर्धचेत थिए।
 
हमाद अस्पतालले एक जना डाक्टर र नर्ससहित उनलाई नेपाल पठाएको बागलुङ सेवा समाज, कतारका अध्यक्ष रमेश भट्टले जानकारी दिए। भट्टले सरकारले केही गर्न नसकेको र अस्पतालले तुरुन्त फिर्ता लैजान वा कोठामा राख्न दबाब दिएकाले नेपाल पठाउन बाध्य बनेको कतारबाट नागरिकलाई फोनमा बताए।
 
'हाम्रो सरकारले केही गर्न सकेन। बागलुङ सेवा समाज लगायतको पहलमा स्वदेश फर्काएका छौं,' उनले भने, 'सधैं अर्काको देशमा राखेर पनि सम्भव थिएन।'
 
सरकारले कोमामा रहेका नेपालीहरुको अध्ययनका लागि परराष्ट्र मन्त्रालयका सहसचिव रमेश खनालको नेतृत्वमा ८ सदस्यीय समिति गठन गरेको थियो। संयोजक खनालले सुवेदीलाई नेपाल ल्याइएको विषयमा दूतावासबाट केही जानकारी नआएको बताए। उनले भने, 'दूतावासबाट केही खबर आएको छैन। अस्पतालमा व्यवस्थापन नगरी बिरामीलाई ल्याउन सकिने अवस्था छैन।'
 
समितिले कोमामा रहेका सबै फिर्ता गर्न प्रक्रिया अगाडि बढाइसकेको उनले बताए। बिरामीका लागि भेन्टिलेटर सहितको आइसियु बेड चाहिने भएकाले कुन अस्पतालमा कसरी राख्ने भन्ने व्यवस्था मिलाइएको छैन।
 
परिवारको पहलमा ल्याउन लागिएको भन्ने पनि जानकारी नपाएको उनले बताए। अस्पतालमा आइसियुसहितको बेड मिलाउन गाह्रो भएकाले नेपाल ल्याउने ठूलो चुनौती रहेको संयोजक खनाल बताउँछन्।
 
कोमामा रहेका बिरामी अर्धचेत अवस्थामा रहन्छन्। उनीहरु चल्न, बोल्न सक्दैनन्। घरमा लगेर राख्ने कुरा होइन। अस्पतालमा उनीहरुको पूर्ण सेवा गर्नु आवश्यक हुन्छ। आफ्ना नागरिक देश फर्काउनु र सुविधासम्पन्न अस्पतालमा राखेर सघन उपचार व्यवस्था मिलाउनु राज्यको दायित्व हो।
 
त्रिभुवन विमानस्थलबाट सुवेदीलाई सिधै एम्बुलेन्समार्फत ग्रिनसिटी अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ।
 
रोजगारी सिलसिलामा कतार पुगेका ११ जना युवा सडक दुर्घटनामा परी कोमामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तीमध्ये एक जना मात्र फिर्ता ल्याइएका हुन्।
 
अन्य सबैको कतारको हमद अस्पतालमा उपचार भइरहेको छ। नेपाल सरकारलाई आफ्ना नागरिक तुरुन्त फिर्ता गर्ने व्यवस्था गर्न कतार सरकारले बारम्बार ताकेता गरिरहेको छ। नेपालमा रहेको कतार दूतावासले समेत पत्र पठाउने गरेको छ। नेपालमा बिरामीका लागि स्तरीय अस्पताल अभाव भएकाले तुरुन्त ल्याउन नसकिएको परराष्ट्र मन्त्रालय मध्य तथा पश्चिम एसिया तथा अफ्रिका महाशाखाअन्तर्गतको समितिका प्रमुख खनालले बताए।
 
बबुऐन–७ बाराका खुबलाल ठाकुर ९ वर्षदेखि, महेशपुर–१ झापाका श्रीबहादुर नेम्वाङ ८ वर्षदेखि, सौरापानी–७ गोरखाका कालु गुरूङ ५ वर्र्षदेखि, हरिचौर–१ बागलुङका गिरीप्रसाद विक ५ वर्षदेखि, दण्डकाली–८ सुर्खेतका हरिबहादुर बस्नेत ४ वर्षदेखि, नौलाखेर प्रसाही–२ धनुषाका बिन्दे मुखिया ४ वर्षदेखि, दाङका भक्तबहादुर रास्कोटी मगर डेढ वर्षदेखि, शंख–२ रुकुमका मनोज केसी, कटैया–१३ बाराका बुनिलालप्रसाद कुर्मी र ठेगाना नखुलेका राजेन्द्रप्रताप शाही २ वर्षदेखि कोमामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ती सबै बिरामी हमद अस्पतालमै उपचाररत छन्।
 
Published on: 14 February 2016 | Nagarik 

Back to list

;