s

सात वर्षदेखि साउदीमा बेपत्ता

रोजगारीका लागि साउदी अरब गएकी झापाको गरामनी ५ की ३० वर्षीया सुनितादेवी गाभी ७ वर्षदेखि बेपत्ता छिन्। 
 
२०६६ मंसिरमा भारतीय बाटो हुँदै साउदी पुगेकी उनी सम्पर्कमा नरहेको परिवारले जनाएको छ। अभिशेष धिमाल नामका एजेन्टले उनलाई ‘हाउस मेड’ का रूपमा साउदी पठाएका थिए। उनका पति नारायणले पासपोर्ट र साउदीसम्मको खर्च दलाल आफैंले बेहोरेको बताए। ‘दलालले विदेश पुगेपछि पैसा दिए हुन्छ भनेर पठाएको थियो,’ उनले भने।
 
दुधे बालक छाडेर साउदी हिँडेकी पत्नी पत्ता नलागेपछि उनले खोजी गरेर फर्काइदिन सम्बन्धित दलाललाई पटक–पटक आग्रह पनि गरे। धिमाल अहिले सम्पर्कविहीन छन्। खोजबिनका लागि विभिन्न संघसंस्था र प्रहरीमा उजुरी दिएका छन्। सुनिताका देवर प्रमोदका अनुसार साउदी पुगेको केही दिनपछि ‘म पुगेँ है’ भनेर एकपटक फोन गरेकी थिइन्। त्यसयता सम्पर्कमा छैनन्। सँगै उडेका छिमेकी महिलाहरूले भटाभट पैसा पठाए। कतिपय फर्की पनि सके। सुनितालाई घर मालिकले बन्धक बनाएर राखेको हुन सक्ने परिवारको अनुमान छ। 
 
उड्नुअघि सुनिताले पति नारायणसँग सल्लाह गरेकी थिइनन्। पासपोर्ट बनाएको नारायणलाई पत्तै छैन। काँकडभिट्टा नाकाबाट भारततिर छिर्ने दिन मात्रै नारायणले थाहा पाएका थिए। 
 
‘विदेश जाने कुरामा हाम्रो घर सल्लाह भएकै थिएन,’ काठ मिस्त्री काम गरेर जीविका चलाउँदै आएका उनले भने, ‘दलालले के भनेर फकायो, नगइनछाड्ने भइसकिछे।’वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन परियोजना (सामी) का झापा संयोजक हरि मैनालीले उनीबारे पीडितको उजुरीका आधारमा गम्भीरतापूर्वक अनुसन्धान थालिएको बताए। ‘उनी साउदीमै छन् भन्ने पुष्टि हुन्छ तर कुन ठाउँ र हालतमा छन् भन्ने खुलेको छैन,’ मैनालीले भने। 
 
Published on: 13 April 2016 | Kantipur

Back to list

;