s

साहू फेर्दै साइप्रसबाट स्वदेश

Dinesh Regmi

चर्को शुल्क तिरेर युरोपस्थित साइप्रसमा घरेलु काम गर्न गएकी महिला ५ साहूका घर फेर्दै आफ्नै टिकटमा स्वदेश फर्किएकी छन् ।

कल्याणपुर-८ चितवनकी ज्ञानुकुमारी निरौला करिब साढे ६ महिनाको कठिनाइपछि साताअघि स्वदेश फर्किएकी हुन् । अहिले उनी आफूले तिरेको रकम, पाउन बाँकी तलब र क्षतिपूर्तिका लागि श्रीमान् गंगारामसँग सरकारी, गैरसरकारी संस्था र म्यानपावर कम्पनी धाइरहेकी छन् ।

'मलाई नेपाल फर्काइदेऊ भन्दा पनि कम्पनीले थप ४ वटा साहूका घरमा जबर्जस्ती पठाएर काम गर्न लगायो' उनले भनिन् । उनी डिलक्स इन्टरनेसनल ओभरसिज, सिनामंगलमार्फत वैदेशिक रोजगार विभागबाट स्वीकृति पाएपछि साइप्रसमा कामदार आपूर्ति कम्पनी 'कृषो उखान प्राइभेट लेबर अफिस' को जिम्मामा पुगेकी थिइन् । निरौलालाई तलब ३ सय २६ युरो -करिब ३६ हजार रुपैयाँ) र ओभरटाइमसहित मासिक नेपाली ५०/६० हजार पाउने बताइएको थियो ।

'राम्रो तलब, ओभरटाइम र बिदा सुविधा हुन्छ भनेर ४ लाख ३० हजार रुपैयाँ म्यानपावरलाई बुझाएर गएकी थिएँ, उनले भनिन् । घरेलु काममा मोटो रकम खर्च गरेर नेपाली दूतावास नभएको साइप्रस गएका अन्य महिला पनि बिचल्ली परेको आप्रवासी कामदारसम्बन्धी संस्था प्रवासी नेपाली समन्वय समितिले जनाएको छ । यस्तै, साढे ४ लाख रुपैयाँ खर्चेर गएकी म्याग्दीकी सपना शाही २ वटा घर फेरेर काम गर्दै साढे ३ महिनापछि आइतबार स्वदेश फर्किएकी छन् ।

निरौला र शाहीलाई पठाउने डिलक्स ओभरसिजका सञ्चालक प्रेमसिंह तामाङले भने अहिले नै केही भन्न नसक्ने बताए । 'के कारणले फर्के, उनीहरूसँग कुरा गरेपछि मात्र भन्न सक्छु,' तामाङले भने ।

हाल काठमाडौं आएका कामदार आपूर्ति कम्पनी कृषोका प्रतिनिधिले यहाँबाट गएका महिलालाई उताको कामबारे जानकार नभएकाले समस्या परेको बताएका छन् । 'सीप सिकेको प्रमाणपत्र हुन्छ तर काम जानेका हुँदैनन्,' कृषोका प्रतिनिधि मोर्डिएनको भनाइ उद्धृत गर्दै समन्वय समितिका सदस्य जेपी सापकोटाले भने ।  

युरोपीयन युनिएनको सदस्य राष्ट्र साइप्रस, लेबनान, सिरिया, टर्की र ग्रीससँग सीमा जोडिएको छ । साइप्रसमा करिब ८ लाख जनसंख्या छ ।

Published on: 26 September 2012 | Kantipur

Back to list

;