s

साढे ५ अर्ब ठगी मुद्दामा कमजोर अनुसन्धान

गोपाल साउद

मलेसिया जाने कामदार ठगीमा संलग्न ४८ जनालाई नेपाल प्रहरीले अघिल्लो साता एकैपटक गिरफ्तार ग-यो । वैदेशिक रोजगारीमा भइरहेको ठगीलाई समाप्त पार्न भन्दै डिआइजी धिरु बस्नेतको नेतृत्वमा ‘ओभरसिज फ्रड अपरेसन’ नै गठन गरियो । तर, पक्राउलगत्तै राजनीतिक तथा प्रशासनिक दबाब बढ्न थालेपछि प्रहरीको अनुसन्धान फितलो हुँदै गएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरी अनुसन्धानले पूर्णता नपाउँदै गृहसचिव प्रेमकुमार राईको दबाबमा स्वास्थ्य परीक्षणका नाममा कामदार ठगी गर्ने दिवान राईको मुद्दा बिहीबार हतारमा अदालत पु-याइयो । गृहसचिव राईले ‘जतिसक्दो छिटो’ आफ्नो मान्छेलाई छाड्न दबाब दिएका कारण अपूरो अनुसन्धानकै भरमा अदालतमा मुद्दा पु-याइएको अनुसन्धानमा संलग्न एक उच्च सरकारी अधिकारीले बताए ।
 
अदालतले पनि २ करोड १४ लाखको बिगो दाबी रहेको उक्त मुद्दामा बिहीबार नै ५० लाख धरौटीमा छोड्न आदेश जारी ग-यो । सो दिन धरौटी जम्मा गर्न नसकेपछि पुर्पक्षका लागि जेल चलान भएका राई शुक्रबार ५० लाख धरौटी बुझाएर रिहा भइसकेका छन् । मेडिकल व्यवसायी राई गृहसचिव प्रेमकुमार राईका नजिकका आफन्त हुन् ।
 
राजनीतिक तथा प्रशासनिक दबाबमा ठगी आरोपी छुट्न थालेपछि अनुसन्धानमा सक्रिय प्रहरीसमेत हच्किएका छन् । दबाबकै कारण काठमाडौं प्रहरी परिसरले मलेसिया जाने कामदारमाथि सिन्डिकेट खडा गर्ने बाँकी २३ मेडिकल संस्थाको मुद्दासमेत आइतबार सरकारी वकिलको कार्यालयलाई जिम्मा लगाइसकेको छ । ती कुनै पनि मुद्दामा पूर्ण अनुसन्धान हुन नपाएको प्रहरी स्रोतको भनाइ छ ।
 
बिगो अढाई अर्बभन्दा कम !
 
भिएलएनले २ अर्ब ८० करोड रुपैयाँ ठगी गरेको छ । तर, भिएलएनका सञ्चालक रामप्रसाद श्रेष्ठमाथि २ अर्ब रुपैयाँको मात्रै बिगो दाबी गर्ने प्रहरीको तयारी छ ।प्रहरीले ठगी मुद्दामा पक्राउ परेका २४ मेडिकलका ३४ जना अभियुक्तमाथि कुल २२ करोड ५२ लाख ४९ हजार ४ सय रुपैयाँको बिगो दाबी गर्दै अदालत बुझाइसकेको छ ।
 
सिन्डिकेट खडा गरेका ३९ मेडिकल व्यवसायीले माइग्राम्स र बायोमेट्रिक्सका नाममा कामदारबाट १ अर्ब ९७ करोड रुपैयाँ ठगेका मेडिकलमाथिको बिगो भने ५० करोड रुपैयाँभन्दा कम हुने देखिन्छ । पर्याप्त अनुसन्धान गर्न नपाएका कारण न्यून रकमको प्रमाण मात्रै जुटाउन सकिएको प्रहरीको भनाइ छ ।
 
दबाबपछि प्रहरी अनुसन्धान फिक्का
 
जिएसजी नामक संस्थाले ८१ करोड ५० लाख रुपैयाँ ठगिसकेको छ । उक्त संस्थाका सञ्चालक गोविन्द थपलिया र गोपाल गुरुङलगायत अझै फरार छन् । ठगीमा संलग्न ३९ मेडिकल व्यवसायीमध्ये २७ वटा मेडिकल सञ्चालकलाई पक्राउ गरिएको छ । बाँकी ५ मेडिकल संस्थाका सञ्चालकहरू प्रहरीको फरार सूचीमा छन् भने ५ वटा मेडिकलमाथि प्रहरीले कारबाही नै गरेको छैन ।
 
मैले छुटाएको होइन :प्रेमकुमार राई, गृहसचिव
 
मैले कसरी छुटाएँ ? अदालतले निर्धारण गरेको धरौटी तिरेर छुटेका छन् । वैदेशिक रोजगार क्षेत्रको ठगी श्रम मन्त्रालयको कार्य क्षेत्र हो । श्रम मन्त्रालयकै आग्रह र सहयोगमा यो कारबाही अगाडि बढाइएको हो । त्यसक्रममा प्रहरीलाई श्रम मन्त्रालयसँग समन्वयमा कारबाही अगाडि बढाउन भनिएको थियो । प्रहरीले समन्वयकै क्रममा पटक–पटक छलफल पनि गरेको हो । श्रम मन्त्रालयले गरेको आग्रहअनुसार सुरुमै गृह मन्त्रालयबाट प्रहरीलाई निर्देशन दिइएको हो । त्यसपछिको अवस्थामा यो कारबाहीमा मैले प्रहरीसँग सम्पर्क  गरेको छैन ।
 
फरार सूचीमा को को ?
 
गोविन्द थपलिया, गोपाल गुरुङ, मुकुन्दप्रसाद पन्त र नवीन कँडेल, जिएसजी
महेशराज श्रेष्ठ, पब्लिक हेल्थ केयर
सुशीला खड्का, हिमालय डाग्नोस्टिक
दीपककुमार कार्की, सुधा पोलिक्लिनिक
प्रवीण तिवारी, सनराइन मेडिकल
जीवन केसी, सिर्जना मेडिकल
कैलाश खड्का र प्रवीण तिवारी, डायनास्टिक मेडिकल
सुजाता भण्डारी, भ्याली मेडिकल सेन्टर
गोपाल दाहाल र उद्धव थापा, साउथ एसियन हेल्थ केयर
कैलाश खड्का, अनमोल मेडिकल
दीपेन्द्रप्रसाद गुप्ता र वसुवास गिरी, फ्युजन पोलिक्लिनिक
गायत्री जिसी, कसमस मेडिकल
 
कारबाहीबाहिर  रहेका ५ मेडिकल
 
नीलाम्बर झा,एभरेस्ट हेल्थ होम, बानेश्वर
प्रदीप फोइवा, लोटस पोलिक्लिनिक, महाराजगन्ज
श्याम थापा, प्रशान्ति हेल्थ केयर, जावलाखेल
मीरा शर्मा, साहारा हेल्थ सेन्टर बानेश्वर
सुसान खड्का, सनराइज पोलिक्लिनिक, महाराजगन्ज
 
Published on: 4 June 2018 | Naya Patrika

Back to list

;