s

रुसको प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएर ७ लाख बढी ठगी गर्ने पक्राउ

काठमाडौं : रुस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीका २८ वर्षीय सरोज थापालाई पक्राउ गरेको हो।

उनले मोहन साउँदलाई रुसमा एक लाख तलब पाउने प्रलोभन देखाई ७ लाख ३० हजार ठगी गरेका थिए। उनले रुस पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने आश्वासन दिई पटक-पटक गरी सो रकम ठगी गरेको काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले बताए।

सरोजलाई बुधबार काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको केसीले बताए। पछिल्लो समय नेपालीहरू गैरकानुनी तरिकाले रुसी सेनामा भर्ना भइरहेका छन्। विभिन्न प्रलोभन देखाएर रुस पुर्‍याई नेपालीलाई रुसी सेनामा भर्ना गर्न गिरोह नै सक्रिय रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। यसअघि नै प्रहरीले गिरोहलाई पक्राउ गरेको थियो।

Published on: 19 January 2024 | Annapurna Post

Link

Back to list

;