s

रसियन युवती भारत तस्करी गर्ने नेपाली ‘एजेन्ट’ पक्राउ

प्रकाश ढुंगाना / भगवती पाण्डे

रसियन युवतीलाई नेपालको बाटो हुदैँ भारत तस्करी गर्ने नेपाली एजेन्ट पक्राउ परेका छन्। २ जना रसियन युवतीलाई प्रहरीले उद्धार गरेको छ।

रुपन्देही प्रहरीले बेलहियाका बब्लु मिया सिद्धिकीलाई पक्राउ गरेको एसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। उद्धार हुनेमा २ जना रसियन मुलकी युवती नारगिदा र कुन्देश खाखारमनी रहेकी छन् ।
 
एसपी ज्ञवालीका अनुसार बब्लु रसियन युवती भारतमा तस्कर गर्ने नेपाली एजेन्ट हुन्। उनले भैरहवा क्षेत्रबाट युवतीहरु भारतमा पठाउन सहयोगीको भुमिका निर्वाह गर्छन्।
 
बब्लुले नेपालका आएका रसियन, उज्वेकिस्तान, ताजकिस्तान लगायतका देशबाट पर्यटक भिसामा नेपाल आएका युवतीलाई भारतको नक्कली भिसा लगाइ सुनौली नाकाबाट भारत पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ।
 
युवतीहरुलाई नक्कली भिसा बनाउन, यातायतको खर्च र भारतीय प्रहरीलाई घुस दिनका लागि भन्दै बब्लुले एक जना विदेशी युवतीबाट ५ लाख रुपैयाँ उठाउदैँ आएका थिए।
 
भारतमा राम्रो कमाइ हुने आश्वासन देखाएर विदेशी युवतीहरुलाई नयाँ दिल्ली लैजाने र त्यहाँ उनीहरुलाई यौनशोषण गराइन बाध्य बनाइने गरेको एसपी ज्ञवालीले बताए।
बब्लुले एक साताअघि मात्र ३ जना रसियन युवतीहरुलाई सुनौली नाका हुदैँ नयाँ दिल्ली पुर्याएका थिए।
 
बब्लुले भने सुनौली नाकाबाट मात्र युवतीहरु भारत पठाउन आफूले सहयोग गर्ने गरेको बताएका छन्। प्रहरी वयानमा उनले भनेका छन्, ‘मैले सुनौली नाकाबाट मात्र उनीहरुलाई भारत प्रवेश गराउने गरेको छु, यस्तै काम कृष्णनगर र रक्सौल नाकाबाट पनि हुन्छ।’
 
प्रहरी अनुसन्धान के भन्छ भने, नेपालको बाटो हुदैँ रसियन युवती भारतमा तस्करी गर्ने एउटा अन्तर्राष्ट्रिय समूह छ। उनीहरुले नेपालबाट मात्रै नभइ दुबइ, मलेसिया, बैंककबाट विदेशी युवतीहरु नेपाल ल्याई भारतीय नाकाहरुबाट उनीहरुलाई भारत प्रवेश गराउदँछ।
 
प्रहरीका अनुसार यसरी युवतीहरुको तस्कर गर्ने नाइके भारतमा बस्छन्। उनको नाम जोगिन्दर सिंह हो।
 
उनीसँग नेपाल र भारत दुवैको नागरिकता र पासपोर्ट छ। उनले कपिलवस्तुबाट नागरिकता र पासपोर्ट लिएका छन्। जोगिन्दर सिंह तिनै हुन् जसले प्रहरी इन्कान्टरमा मारिएका मनोज पुनलाई भारतमा सेल्टर दिएका थिए।
 
Published on: 25 March 2018 | Setopati

Back to list

;