s

रुसी सेनामा कार्यरतका परिवारजन संगठित अभियानमा

रुसी सेनामा कार्यरत नेपालीका परिवारले आफन्त स्वदेश फिर्ताका लागि प्रयास गर्न, बेपत्ताको खोजी गर्न माग गर्दै संगठित अभियान थालेका छन् । उनीहरूले मंगलबार रुसी राजदूतावासमा ध्यानाकर्षणपत्र बुझाएका छन् । यसअघि गत साता माओवादी महासचिव देव गुरुङलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

मृतकका परिवारलाई क्षतिपूर्ति र शव नेपाल ल्याउन, सेनामा रहेकालाई नेपाल फर्काउन र नेपालबाट भर्ती नलिन रुसलाई उनीहरूले ध्यानाकर्षण गराएका छन् । सबै राजनीति दललाई ज्ञापनपत्र बुझाएर उनीहरूले सरकारलाई दबाब दिन लागेका छन् ।

‘पीडित परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना अभियान भनेर सुरु गरेका छौँ । रुसमा मृत्यु भएकाहरूको परिवार, सम्पर्कमा नआएका व्यक्तिको परिवार र घाइतेका परिवार काठमाडौं आउनुभएको छ । हामीले उहाँहरूलाई सहयोग गरिरहेका छौँ,’ अभियानको अगुवाइ गरेकी एकीकृत समाजवादीकी नेतृ कृतु भण्डारीले नयाँ पत्रिकासँग भनिन् । माओवादी र रुसी राजदूतावासमा बुझाइएको ज्ञापनपत्रमा परिवारका तर्फबाट कृतु भण्डारी, सुमी राई र सीतामाया बलले हस्ताक्षर गरेका छन् ।

‘रुसमा गएर सेनामा भर्ती भएकाहरू स्वदेश फर्किन चाहन्छन् । हामीसँग सम्पर्कमा आएकाले दुःख पोखिरहनुभएको छ,’ भण्डारीले भनिन्, ‘नेपालमा रहेका परिवार असाध्यै पीडामा छ । हामीले राजनीतिक दलहरूबाट अपेक्षाकृत सहानुभूति पाउन सकेनौँ । उहाँहरूलाई भेट्न खोज्दा पनि समय पाएका छैनौँ ।’ हालसम्म परिवारजनका तर्फबाट दुई सयजनाको निवेदन परराष्ट्रको कन्सुलर सेवा विभागमा बुझाएको उनले जानकारी दिइन् ।

परराष्ट्रको प्रयास अपर्याप्त

परराष्ट्र मन्त्रालयले यसअघि रुस सरकारलाई तीनपटक चिठी पठाएर त्यहाँ रहेका नेपालीको संख्याबारे जानकारी मागेको थियो । तर, रुसले जवाफ पठाएको छैन । ‘हामीले रुस सरकारसँग समन्वय गरिरहेका छौँ । पीडित परिवारजनप्रति हाम्रो सहानुभूति छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नयाँ पत्रिकासँग भने, ‘रुसी सेनामा रहेर निधन भएका नेपालीको शव स्वदेश फिर्ता, क्षतिपूर्तिलगायत विषयमा पहल गरेका छौँ । हामी रुस सरकारसँग सम्पर्कमा छौँ ।’

परिवारजनले रुस र युक्रेनको युद्धमा कुनै साइनो–सम्बन्ध नभएको नेपालका नागरिकले अनाहकमा मृत्युवरण गर्नुपर्ने अवस्था, बाँचेकाहरू चाहेर पनि स्वदेश फर्किन नपाउने अवस्था, जबर्जस्ती युद्धमा होमिनुपर्ने बाध्यता रहेको जनाउँदै आएको छ ।

‘नेपालीको दर्दनाक अवस्थाप्रति संवेदनशील भई जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्ति, सेनामा रहेका नेपाली नागरिकको सकुशल घर फिर्ताका लागि वातावरण निर्माण, रुसी फौजमा भर्ती हुनबाट नेपाली नागरिकलाई रोक्ने कार्यका लागि उचित पहलकदमी र उचित निर्णयका लागि रुसी राजदूतावासमार्फत रुसी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ,’ परिवारजनले रुसी राजदूतावासलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

सरकारी तथ्यांकअनुसार रुसी सेनामा कार्यरतमध्ये १४ जनाको मृत्यु भएको छ, पाँचजना युक्रेनको सेनामा युद्धबन्दी अवस्थामा छन् । तर, परिवारजनले यो संख्या ठूलो रहेको भन्दै सत्यतथ्य खोजीका लागि सरकारसँग आग्रह गरेको छ । अभियन्ता भण्डारीका अनुसार आफन्त खोजिदिन माग गर्दै उनीसँग सम्पर्क गर्नेपरिवारजनको संख्या बढ्दै गएको छ । दुई सयजनाभन्दा बढी परिवारका सदस्य रहेको ह्वाट्सएप ग्रुपमा दिनहुँ हराएका आफन्तको फोटोसहित खोजी गरिदिन अनुरोध आइरहेको उनले बताइन् । ‘सरकारले केही गरिरहेको छ भन्ने कुराको अनुभूति परिवारजनले गर्न पाएको छैन । हामीले ध्यानाकर्षण गराउन खोज्दा उहाँहरूले यथोचित रेस्पोन्स गर्नुभएन,’ भण्डारीले भनिन् ।

Published on: 8 February 2024 | Naya Patrika

Link

Back to list

;