s

रुसी सेनामा कार्यरत टीकापुरका शाहको मृत्यु, केही नेपाली घाइते

टीकापुर : युद्धग्रस्त युक्रेन र रुसमा भएको भीडन्तमा परी कैलालीको टीकापुरका एक युवकको मृत्यु भएको छ। तीन महिनाअघि रुसी सेनामा आबद्ध भएर युद्धग्रस्त क्षेत्रमा गएका टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको हो।

रुसी सेनामा कार्यरत रहेका कञ्चनपुरका रवीन थापाले अडियो सन्देश पठाउँदै शाहको नोभेम्बर २६ तारेखमा ज्यान गएको बताएका छन्। तीन हप्तादेखि परिवारको सम्पर्कमा नभएका शाहको मृत्युको खबर शनिबार मात्रै परिवारले थाहा पाएका थिए।

शाहका पारिवारिक सदस्य एवं नेपाली कांग्रेस क्षेत्र नं. १ कैलालीका सभापति प्रकाश शाहले तीन महिना अघि रुसी सेनामा आबद्ध भएका भरतको मृत्यु भएको बताउँदै आइतबार कुशको शव बनाएर कर्णाली नदीको दौलतपुर घाटमा अन्तिम संस्कार गरिएको बताए। ‘तीन हप्ता भन्दा बढी भएको थियो, परिवारको सम्पर्कमा नभएको, शनिबार मात्रै भरतसँगै कार्यरत रवीन थापाले अडियो सन्देश पठाएपछि अन्तिम संस्कार गरेका हौं।’

थापाले पठाएको अडियो सन्देशमा आफू र शाहसँगै एउटै ब्यारेकमा रहेको र दुबईबाट सँगै रुस गएको उल्लेख छ। ‘भरत भाइ मसँगै दुबईबाट रुस आएका हौं, हामी एउटै ब्यारेकमा, टिममा थियौं’ रवीनले भनेका छन् ‘लडाइमा घाइते भएपछि मैले बचाउने हर कोसिस गर्दा पनि सकिनँ, आइएम सरी, आफ्नो संस्कार गरिहाल्नु, भरतको कागजातहरू मसँगै छ।’

थापाले आफू समेत फेरि युद्धमा जान लागेको र ज्यानको कुनै भरोसा नभएको उल्लेख गरेका छन्। नेपाल प्रहरीमा सात वर्ष ट्राफिक प्रहरीका रुपमा कार्यरत रहेका भरत तीन वर्षअघि मात्रै दुबईको रोयल गार्डमा रुपमा राजीनामा दिएर पुगेका थिए। दुबईबाटै भरत, रवीन, पोखराका राजेन्द्र राई रुसमा गएका हुन्।

मृतक भरत घरका माइला हुन्। उनका कान्छा भाइ मोहन मलेसियामा छन् भने दाजु उत्तम रोमानिया छन्। शाहका श्रीमती, चार वर्षको छोरा र तीन महिनाको छोरी रहेको उनका भाइ मंगल शाहले बताए। शाहको परिवार अछामको बान्नीगढी जयगढ नगरपालिका-६ दर्नाबाट टीकापुर बसाई सरेको हो।

शाहसँगै पाँच गोली लागेर घाइते भएका पोखराका राजेन्द्र राईले समेत परिवारका सदस्यलाई युक्रेनको बागमत भन्ने स्थानमा भएको लडाईमा घाइते भएको बताए। काँग्रेस क्षेत्रीय सभापति शाहसँग भाइबरमा कुरा गर्दै राईले भने ‘दुई बटालियन जति नेपाली छन्, मेरो कम्मरमुनि पाँच गोली लागेको छ। रुसी सेना भनेर हामी गए पनि भाँडाको सेनाका रुपमा बाग्नर समूहबाट हामी लड्का हौं।’

राईलाई उद्धृत गर्दै सभापति शाहले रुसको पासपोर्ट, पिआर लगायतका लोभ देखाएर थुपै्र नेपालीहरु लडाइमा होमिएको बताए। ‘आँखामा गोली लागेर गिरी थरका एक अर्का नेपालीको समेत हाम्रै अगाडि ज्यान गएको छ। म पाँच घण्टा स्क्रोलिङ गरेर भागेपछि रसियन सेनाले उद्धार गरेर हाल मस्कोको आर्मी अस्पतालमा उपचार गराई रहेको छु।’

राईले आफूलाई ठीक हुन छ महिना भन्दा बढी समय लाग्ने बताउँदै आफू नेपाली राजदूतावासको सम्पर्कमा रहेको र नेपाल फर्किन चाहेको बताए। शाह, राई र थापासँगै गएका कैलालीका अरू दुई जनाको अवस्था समेत अज्ञात रहेको राईले बताए। भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई औपचारिक रुपमा जानकारी भने दिएको छैन।

Published on: 18 December 2023 | Annapurna Post

Link

Back to list

;