s

रुसी सेनामा कार्यरत पाल्पाका विष्णु एक हप्तादेखि सम्पर्कविहीन

तानसेन : एक महिनाअघि रुसी सेनामा भर्ना भइ युक्रेन सिमानाको युद्धमा खटिएका पाल्पा रैनादेवी छहरा गाउँपालिका-३ भुवनपोखरी रुगका विष्णुबहादुर पौडेल एक हप्तादेखि परिवारबाट सम्पर्कविहीन भएका छन्।

युक्रेन सिमानामा युद्धमा खटिएका रुसी सेनामा कार्यरत पौडेल बिरामी भएपछि सीमा क्षेत्रकै अस्पतालमा भर्ना भएका जानकारी विष्णुले पविारमा खबर गरेका उनका भाइ प्रदीप पौडेलले बताए। अस्पतालमा फोर्न सम्पर्क गर्न नपाउने अवस्थामा बिरामी परेका पौडेलले लुकेर घरपरिवारसँग समय-समयमा सम्पर्क गरे पनि एक हप्तादेखि कुनै सम्पर्क नभएको प्रदिपले बताए। अस्पतालबाट सम्पर्क भए पनि कुन अस्पतालमा भर्ना भएका हुन् भन्ने बारे जानकारी दिन नसकेको निजकी श्रीमती सुमित्रा रायमाझी पौडेलले बताइन्।

विष्णु गएको असोज २९ गते नेपालबाट रुस गएका थिए। रुस गएको केही समयपछि नै उनी रुसी सेनामा भर्ना भएका थिए। रुसमा वैदेशिक रोजगारमा नजान अनुरोध गरे पनि विभिन्न एजेन्टको माध्यमबाट श्रीमान रुस पुगेका श्रीमती सुमित्राले बताइन्।

३ नोभेम्बर २०२३ मा विष्णुलाई रुसी सेनामा भर्ना भएको नियुक्ति पत्र दिइएको थियो। त्यसपछि उनलाई युक्रेनमा सीमामा खटाएको थियो। विष्णुलाई दिइएको नियुक्ति पत्रमा रुसी राइफल म्यानको जिम्मेवारी दिइएको थियो। उनलाई रोस्टभ रिजनको पेरसिअनोस्कि गाउँमा खटाएको नियुक्तिपत्रमा उल्लेख गरिएको श्रीमती सुमित्राले बताइन्।

युक्रेन सीमामा हिउँ परेको अत्याधिक चिसोको कारण विष्णुलाई छाती दुख्ने, तथा फोक्सोमा समस्या आएपछि अस्पताल भर्ना भएका श्रीमती सुमित्राले बताइन्। 'अस्पतालबाट लुकीछिपि समय समयमा छोटो-छोटो कुराकानी भएको थियो। एजेन्टमार्फत रुसी सेनामा भर्ना भए पनि श्रीमानले रुसी सेनाबाट छुटकारा पाई नेपाल फर्किने इच्छा देखााउनुभएको थियो। भाग्न मिल्ने अवस्था छैन, २० वर्ष कैद हुन्छ जे जसरी हुन्छ पहल गरिदिन अनुरोध गर्नुभएको थियो', उनले भनिन्। तर एक हप्तादेखि भने सम्पर्क नै नभएको सुमित्राले बताइन्।

घरपरिवारले अस्पतालमा भर्ना भएका पौडेललाई स्वदेश फिर्ताको पहल गरिदिन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, रुसमा रहेको नेपाली दुतावास, गैर आवासीय नेपाली संघ लगायत तहमा अनुरोध गरेका छन्। पौडेलले नेपाली सेनाको जागिरबाट ३ वर्ष अघि अवकाश पाएका थिए।

पौडेल वैदेशिक रोजगारीकै सिलसिलामा विभिन्न एजेन्ट मार्फत रुसमा पुगेका हुन्। उनकी श्रीमती रैनादेवी छहरा वडा नं ३ भुवनपोखरीमा बस्दै आएकी छन्। उनीहरुका एक छोरा एक छोरी छन्।

Published on: 11 December 2023 | Annapurna Post

Link

Back to list

;