s

रुसी सेनामा कार्यरत लमजुङका साजन गुरुङको मृत्यु

लमजुङ : रुसी सेनामा भर्ना भएका थप एक जना नेपालीको मृत्यु भएको छ। लमजुङको दूधपोखरी गाउँपालिका-१ घामर चोक बस्ने ३२ वर्षीय साजन गुरुङको निधन भएको हो।

दूधपोखरी गाउँपालिकाका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङका अनुसार साजनको साथीमार्फत् मृत्युको खबर आएको थियो।

'साथीमार्फत् मृत्यु भएको खबर परिवारमा आएको रहेछ। अहिले उहाँको परिवार विक्षिप्त बन्नुभएको छ। के कसो गर्ने रणभुल्लमा हुनुहुन्छ। आवश्यक समन्वय हामीले गरिरहेका छौं,' उपाध्यक्ष गुरुङले अन्नपूर्णसँग भने।

एकैपटक भिसा लागेरमात्रै साजनले घरमा खबर गरेका थिए। यद्यपि उनी सिधै रुस पुगेका थिए वा अन्य मुलुकबाट त्यहाँ गएका थिए भन्ने कुरा खुलेको छैन। मृतकका बुबा श्रीमान गुरुङले रुस जाने कुरा थाहा पाए जान नदिने बताएका छन्।

'रुसी सेनामा भर्ना हुन जान लागेको कुरा थाहा पाएको भए जानै दिन्नथे। हामीलाई यो कुरा जानकारी नै भएन,' श्रीमानको भनाइ उद्धृत गर्दै उपाध्यक्ष गुरुङले भने। श्रीमानका साजन जेठो छोरो हुन्। कान्छो छोरो जर्मनीमा रहेको बताइएको छ। मृतक साजनका श्रीमती र एक छोरा छन्।

Published on: 17 January 2024 | Annapurna Post

Link

Back to list

;