s

रुसी सेनामा ज्यान गुमाएका शुक्रबहादुरको परिवारले गर्‍यो काजकिरिया

१७ जेठ, काठमाडौं । रुसी सेनामा ज्यान गुमाएका शुक्रबहादुर तामाङको परिवारले काजकिरिया गरेको छ ।

रुसी सेनामा हुँदा मृत्यु भएका तामाङको परिवारका सदस्यले बिहीबार बौद्ध धर्म संस्कार अनुसार काठमाडौंको स्वयम्भू गुम्बामा काजकिरिया पूरा गरेका हुन् । परिवारले मृतक तामाङको शव भने पाएका छैनन् ।

२०८० असोज २२ गते रुसी सेनामा भर्ना भएका तामाङको मृत्युको खबर माघ १० गते आएको थियो । सरकारले पनि उनको मृत्युको पुष्टि गरिसकेको छ ।

हालसम्म रुस–युक्रेन युद्धमा पुगेर मृत्यु हुने नेपालीको संख्या ४० पुगेको छ । तीमध्ये २२ जनाको नाम सरकारले पुष्टि गरेको छ भने १८ जना पारिवारिक स्रोतले पुष्टि गरेको छ । यी परिवारले अन्तिम संस्कार समेत पूरा गरिसकेका छन् ।

रुसी सेनामा गएकाहरूको परिवार र आफन्त जोडिएको ‘रुसी सेनामा आवद्ध नेपालीको जीवन अभियान’का अनुसार हालसम्म ३०० हाराहारी सम्पर्कविहीन छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ती भएका परिवार र आफन्तले सम्पर्कविहीन भएका ९९, घाइते तथा उद्धारका लागि भनेर १४२ जना गरी २८३ जना परिवारले निवेदन दिएका छन् ।

रुस–युक्रेन युद्धमा सहभागी भएकामध्ये ६ नेपालीलाई युक्रेनले बन्धक बनाएको छ भने हालसम्म रुसी सेनामा भर्ती भएकामध्ये ६५ जना स्वदेश फर्केका छन् ।

Published on: 31 May 2024 | Onlinekhabar

Link

Back to list

;