s

रूसी सेनामा गएका ३ नेपालीले उद्धारका लागि भारतसँग मागे सहयोग

२७ फागुन, काठमाडौं । रुसी सेनामा गएका ३ जना नेपालीको भिडियो सन्देश सार्वजनिक भएको छ ।

रुसस्थित नेपाली दूतावासले सहयोग नगरेको भन्दै हिन्दीमा सम्बोधन गरेर उनीहरुले छिमेकी मुलुक भारतसँग सहयोगका लागि अपिल गरेका छन् ।

‘हामी छिमेकी मुलुक भारतसँग मद्दत माग्न चाहन्छौं, भारतले सहयोग गर्छ भन्ने धेरै आशा छ’, उनीहरुले भनेका छन्, ‘नेपाल र भारतको एकदम राम्रो सम्बन्ध छ, त्यसैले सहयोग माग्न चाहन्छौं । तपाईंहरुको देश शक्तिशाली पनि छ, हाम्रो नेपालबाट केही पनि भइरहेको छैन ।’

एजेन्टले आफूहरुलाई रुसी सेनामा ‘हेल्पर’का रुपमा काम गर्नुपर्छ भनेर ल्याएर युद्धमा जान बाध्य बनाएको उनीहरुले भनेका छन् ।

‘हामी ठगिएका छौं, हाम्रो ३० जना साथीहरु थिए, तीमध्ये ५ जना मात्र बाँकी छांै’, भिडियोमा उनीहरुले भनेका छन्, ‘कसैलाई कता पठायो, कसैलाई कता पठायो ।’

उनीहरुले आफूहरुको साथमा केहीअघि ‘३ जना भारतीय भाइहरु पनि थिए’ भन्दै सम्भव भए त्यहाँबाट निकालिदिन भनेका छन् ।

परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा गएकामध्ये १२ जना मारिएको पुष्टि गरेको छ । तर, रुसी सेनामा गएका नेपालीलाई फिर्ता ल्याउन अभियान चलाएकाहरुका अनुसार, १९ जनाका परिवारले मृत्यु भएको पुष्टि हुने आधारहरु पाएपछि अन्तिम संस्कार गरिसकेका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने यकिन विवरण नभएपनि फिर्ता ल्याउन पहल भइरहेको बताए ।

‘हालसम्म २४५ परिवारले आफ्नो मान्छेलाई फिर्ता ल्यादिन भनेर निवेदन दिनुभएको छ’, उनले अनलाइनखबरसँग भने ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले २४ फागुनमा रुसी विदेशमन्त्री सर्गेई लावरोभसँग टेलिफोन वार्ता गरेका थिए । त्यसक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले रुसी सेनामा रहेका आफ्ना नागरिकका विषयमा चासो राखेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘रुसको युद्धमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वेदश फर्काएर सहजीकरण गर्न उहाँले आग्रह गर्नुभएको छ’, परराष्ट्र मन्त्रालयले भनेको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले क्षतिपूर्तिको विषयमा समेत चासो राखेको मन्त्रालयले जनाएको छ । परराष्ट्र स्रोतका अनुसार, रुसी पक्षबाट भने नेपालको चासोमा स्पष्ट जवाफ आएको थिएन ।

रुसमा रहेका नेपालीको रक्षाका लागि सचेतना अभियान संयोजक कृतु भण्डारीले रुसमा जोखिममा रहेका आफ्नो नागरिकको उद्दार गर्ने दायित्व नेपाल सरकारको भएको बताइन् ।

‘हामीसँग रुसी सेनामा भएका ६ सय परिवारको विस्तृत विवरणसहित सूची छ, प्रधानमन्त्रीसँग भेटेर हस्तान्तरण गर्ने योजना थियो’, उनले अनलाइनखबरसँग भनिन्, ‘सरकारमा आएको फेरबदलपछि अहिले परराष्ट्रमन्त्रीलाई पहिले भेट्न लागेका छौं ।’

हालसम्म सरकारले यो मामलालाई गम्भीरतापूर्वक लिएको आफूहरुलाई नलागेपनि बदलिएको परिस्थितिमा सरकारले आफ्ना नागरिकलाई उद्दार गरेर ल्याउन उपयुक्त कदम चाल्ने आफूहरुको विश्वास रहेको उनले बताइन् ।

Published on: 11 March 2024 | Onlinekhabar

Link

Back to list

;