s

रूसी सेनामा गएका १२ युवा सम्पर्कबिहीन

रुसी सेनामा कार्यरत १२ जना नेपाली युवाको परिवारसँग एक महिनादेखि सम्पर्क बिच्छेद भएको भन्दै आफन्तले राष्ट्रिय मानव अधिकार आयोगमा जीवनरक्षा र उद्धारका लागि अपिल गरे पनि सरकारले अवस्थाबारे कुनै जानकारी दिएको छैन।

मंसिर अन्तिम हप्तादेखि पुससम्म रुसी सेनामा कार्यरत १२ जना नेपाली युवाको परिवारले जीवनरक्षा गर्दै तत्काल उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा अपिल गर्दै उजुरी हालेका थिए। तर, सरकारले भने अहिलेसम्म उनीहरूको अवस्थाबारे सोधखोज गरी कुनै जानकारी नदिएको आयोगका अधिकारीहरूले बताएका छन्।

‘पीडितबाट उजुरी परेपछि परराष्ट्र मन्त्रालयमा तत्काल उद्धार गर्न आयोगले पत्राचार गरे पनि सरकारले उनीहरूको अवस्था र जीवनरक्षाका बारे खोजी सुरु भएको बताए पनि वास्तविक अवस्थाबारे कुनै जानकारी दिएको छैन,’ उनले भने, ‘जीवनरक्षाका आग्रहसहित आयोगमा निवेदन दिएका पीडित परिवारले दिनहुँ फोन गरी छोराको अवस्थाबारे सोधखोजीसहित चिन्ता प्रकट गरिरहेका छन्। आयोगले आश्वस्त पार्न नसक्दा परिवार थप चिन्ता र तनावमा छन्।’

तनहुँका मोतीबहादुर आले, तनहुँ पोखरी भज्याङका प्रकाश गिरी, तनहुँकै डनबहादुर आले, तनहुँका आनन्द अधिकारी, तनहुँ बन्दीपुरका राजु सुनार, तनहुँ पोखरी भञ्ज्याङका प्रदीप पुरी, उदयपुर पञ्चावतीका नारायण रसाइली, धादिङ गंगाजमुनाका हरि बरुवाल, उदयपुर चौदण्डीगढीका पदमबहादुर घिमिरे, रूपन्देही सैनामैनाका विपीन विक, ओखलढुंगाका खेमराज बोगटी रुसी सेनामा कार्यरत रहेको खुलेको छ।

यी युवाहरू एक महिनादेखि परिवारसँग सम्पर्क बिच्छेद भएको भन्दै उनीहरूका आफन्तजनले जीवनरक्षासहित तत्काल उद्धार गर्न आयोगलाई गुहारेका थिए। आयोगले पराराष्ट्र मन्त्रालयलाई उनीहरूको अवस्थाबारे जानकारी दिन दिनहुँ अनुगमन गरिरहे पनि सरकारबाट आवश्यक सूचना र जानकारी पाउन नसकेको आयोगका सहायक प्रवक्ता काफ्लेले बताए।
गैरकानुनी बाटो प्रयोग गरी रुसी र युक्रेनी सेनामा पुगेर जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य भएको जनाउँदै आयोगले तत्काल जीवन रक्षा गरी प्रभावकारी रूपबाट उद्धारको व्यवस्था गर्न सरकारलाई अनुरोध गरेको थियो।

रुस र युक्रेनबीच सन् २०२२ फेब्रुवरीदेखि युद्ध चलिरहेको छ। गैरकानुनी रूपबाट नेपाली युवा रुस र युक्रेनमा सेना बनेर युद्धमा सहभागी बनेको पाइए पनि सरकारले त्यसको वास्तविक आँकडा पाउन सकेको छैन।

रुसी सेनामा भर्ती भएका थप एकजना नेपाली युवाको मृत्यु भएको छ। लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रूस–युक्रेन युद्धमा मृत्यु भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए।

गुरुङसहित रूसी सेनामा ज्यान गुमाउने युवाको संख्या ११ पुगेको हो। परराष्ट्र मन्त्रालयका अनुसार स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको एक महिनाअगाडि नै मृत्यु भएको थियो।

त्यस्तै गोरखाका सन्दीप थपलिया, कपिलवस्तु, वाणगंगा–१ का रूपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, दोलखाको मेलुङ–६ का राजकुमार रोका, इलामको इलाम–५ का गंगाराज मोक्तान र कञ्चनपुरका कुन्दनसिंह नागालको पनि रुसी सेनाको रूपमा युद्धमा ज्यान गएको छ।

Published on: 17 January 2024 | Nagarik

Link

Back to list

;