s

रुसी सेनामा भर्ति भएका नेपालीका आफन्तले आज प्रधानमन्त्री दाहालसँग वार्ता गर्ने

काठमाडौं : ‘रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग वार्ता गर्ने भएको छ। रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षा तथा उद्दार गरी सकुशल नेपाल फिर्ताको पहल गर्न माग गर्दै अभियानले सरकारलाई १३ बुँदे माग पेश गरेको थियो। आज बिहान साढे ८ बजे बालुवाटारमा प्रधानमन्त्रीसँग वार्ता हुने कृतु भण्डारीले जानकारी दिइन्।

उनीहरुले सकुशल उद्दार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर पुष्टि नभएकाको अवस्था सार्वजनिक, बेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएकाको उद्धार र घाइतेको उचित उपचारलगायत विषयमा सरकारलाई गम्भीर हुन आग्रह गरेका हुन् ।

हेर्नुहोस् के-के छन् माग ?

१. रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्दार गरी नेपाल ल्याउने व्यवस्था गर ।
२. करार सम्झौता रद्द गरी उद्दारको पर्खाईमा रहेका नागरिकहरुलाई पुनः युद्ध मैदानमा लगिएकाले उनीहरुलाई तत्काल उद्दार गरी नेपाल ल्याउने व्यवस्था गर ।
३. युद्धमा घाईते नेपालीको उचित उपचार, क्षतिपुर्ति र नेपाल ल्याउने व्यवस्था गर ।
४. युक्रेनको कब्जामा रहेका ५ जना युद्धबन्दीको सकुशल उद्दार गर ।
५. मृतकको शव ल्याउने र क्षतिपुर्तिसहित रुसी सेनाबाट प्राप्त गर्ने सबै खाले सेवा सुविधा नेपाल ल्याउने व्यवस्था गर ।
६. वेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन गर ।
७. रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्याङ्क सार्वजनिक गर ।
८. प्रलोभनमा पारि रुस पठाउने र नेपाल ल्याईदिन्छु भनि पैसा उठाउने बिचौलियाको पहिचान गरी कारवाही गर ।
५. रुसी सेनामा कार्यरत रहँदा पाउने तलब, भत्ता, सुविधासहित घाइतेले प्राप्त गर्ने क्षतिपुर्ति नेपालबाटै पाउने व्यवस्था गर ।
१०. पीडित परिवारको उद्दार, राहत र पुनर्स्थापनाका लागि मन्त्रिस्तरीय समन्वय समिति गठन गर ।
११. विभिन्न माध्यमबाट रुस गएका सबै नेपालीको अवस्था पुष्टि गरी सूची सार्वजनिक गर ।
१२. रुसी सेनाबाट फर्किएर आएका युवाको पुनर्स्थापना तथा पीडित परिवारको उचित हेरचाह गर ।
१३. कुटनीतिक सम्बन्ध भएका देशहरुमा नेपालले आफ्ना नागरिकलाई सैन्य सम्झौता विना सैन्य सेवामा भर्ती नगर्न पहल गर ।

Published on: 7 May 2024 | Annapurna Post

Link

Back to list

;