s

रुसी सेनामा भर्ति भएका नेपालीका आफन्त भन्छन्- मर्नु न बाँच्नुको अवस्थामा पुग्यौं

काठमाडौं : रुसी सेनामा भर्ति भएका नेपालीका आफन्तले आफूहरू मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताएका छन्। विगत दुई हप्तादेखि आमरण अनशनमा बसेका उनीहरूले रुसी सेना रहेका आफ्ना मान्छेहरूलाई रिहाइ गरिदिन सरकारसँग अपील गरेका छन्।

उनीहरूले विभिन्न १३ बुँदे मागसहित १५ दिनदेखि अनसनमा बसेका छन्। रुसी सेनामा आबद्ध नेपालीहरूको जीवनरक्षा, घाइतेहरूको उपचार तथा क्षतिपूर्ति, बेपत्ताहरूको खोजी, युक्रेन कब्जामा रहेका नेपाली युद्धबन्दीहरूको सकुसल रिहाई र मानव तस्करहरूलाई कारबाही गर्न माग गर्दै उनीहरू अनसनमा बसेका हुन्।

गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई पटक-पटक आवश्यक पहलका लागि गुहार गरे पनि कुनै वास्ता नगेरेको संघर्ष समितिका संयोजक कृतु भण्डारीले बताइन्। रुसी सेनामा भर्ति भएका हलसम्म ३९ जनाको मृत्यु भएको छ। युक्रेन-रुस युद्धमा उनीहरूले ज्यान गुमाएका हुन्। संघर्ष समितिका संयोजक भण्डारीका अनुसार थप ४० जनाको मृत्यु भएको खबर पाएको बताइन्।

'हालसम्म हामीले ६९१ जनाको विवरण संकलन गरेका छौं। जसमध्ये ३९ जना मृतक, अन्य ४० जना मृत्यु भयो भनिएका तर पुष्टि हुन बाँकी, ५ जना युक्रेनको कब्जामा, ११७ जना घाइते, २७२ जना सम्पर्कविहीन, १५ जना करार सम्झौता रद्द गरेकाहरू, ११ जना रुसी राहदानीका लागि आवेदन दिएका र ३१ जना रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका व्यक्तिहरु हाम्रो सम्पर्कमा छन्,' उनले भनिन्।

रुस र युक्रेनको युद्धमा कुनै पनि साइनो सम्बन्ध नभएका नेपाली युवाहरूको ज्यान गुम्ने परिस्थिति अनि मृतकको शवसम्म पाउन नसक्ने अवस्थाका कारण परिवारका सदस्यहरू विक्षिप्त छन्। 'महिनौंदेखि सम्पर्क नभएका परिवारका सदस्यको अवस्था अज्ञात हुँदा एकातिर परिवारजन प्रताडित छन् भने अर्कोतिर, परिवारको सम्पर्कमा भएकाहरू पनि सकुशल घर फर्किने वातावरण निर्माणको पर्खाईमा छन्। स्वदेशमा परिवारजनलाई पर्खेका अथवा मृत्युवरण गरेका परिवारजनको शवको प्रतिक्षा गरेका परिवारको पीडा कति असह्य छ भनिरहनु पर्दैन। वास्तबमा परिवारजन मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन्,' संयोजक भण्डारीले भनिन्।

उनले अनसनमा बसेका पीडितका आफन्तहरूको स्वास्थ्य स्थिति जटिल बन्दै गएको बताइन्। शरीरमा गुलकोजको मात्रा घटेको र पानीको मात्रा कम भएकाले पिसाबमा समस्या देखा परेको उनको भनाइ छ। 'अनसनरत साथीहरू पटक-पटक बेहोस हुने क्रम बढेको छ। जति बेला पनि साथीहरूको स्वास्थ्य स्थिति बिग्रिन सक्ने स्थिति छ। अनसनरत व्यक्तिहरूको जीवनरक्षार्थ सम्पूर्ण निकायसँग तत्काल निकासका लागि आवश्यक पहल कदमी गर्न अपिल गर्दछौं,' संयोजक भण्डारीले भनिन्।

यी हुन् उनीहरूका प्रमुख मागहरू

- रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्दार गरी नेपाल ल्याउने व्यवस्था ।
- करार सम्झौता रद्द गरी उद्दारको पर्खाईमा रहेका व्यक्तिहरुलाई पुनः यद्ध मैदानमा लगिएकाले उनीहरुलाई तत्काल उद्दार गरी नेपाल ल्याउने व्यवस्था।
- युद्धमा घाईते नेपालीको उचित उपचार, क्षतिपुर्ति र नेपाल ल्याउने व्यवस्था ।
- युक्रेनको कब्जामा रहेका ५ जना युद्धबन्दीको सकुशल उद्दार गरी नेपाल ल्याउने व्यवस्था ।
- मृतकको शव ल्याउने र क्षतिपुर्तिसहित रुसी सेनाबाट पाउने तलब, भत्ता उपलब्ध गराउने व्यवस्था ।
- वेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन तहमा ल्याउने व्यवस्था ।
- रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्याङ्क सार्वजनिक गर्ने व्यवस्था ।
- प्रलोभनमा पारि रुस पठाउने बिचौलियाको पहिचान गरी तत्काल कारवाही गर्ने व्यवस्था ।
- नेपालीहरुको उद्दार नभईसकेको अवस्थामा रुस जाने श्रम स्विकृति तत्काल खारेज गर्नुपर्ने व्यवस्था
- पीडित परिवारको उद्दार, राहत र पुनस्थापनाका लागि मन्त्रिस्तरीय समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था ।
- विभिन्न माध्यमबाट रुस गएका सबै नेपालीको अवस्था पुष्टि गरी सूची सार्वजनिक गर्नुपर्ने व्यवस्था ।
- रुसी सेनाबाट फर्किएर आएका युवाको पुनस्थापना तथा पीडित परिवारको उचित हेरचाहको व्यवस्था ।
- कुटनीतिक सम्बन्ध भएका देशहरुमा नेपालले आफ्ना नागरिकलाई सैन्य सम्झौता विना सैन्य सेवामा भर्ती नगर्न पहल गर्नुपर्ने व्यवस्था ।

Published on: 6 May 2024 | Annapurna Post

Link

Back to list

;