s

रूसी सेनामा भर्ना भएकाका आफन्तसँग मन्त्री साउदले गरे छलफल

परराष्ट्रमन्त्री एनपी साउदले गैरकानुनी रूपमा रूसी सेनामा भर्ना भएका नेपाली नागरिकप्रति राज्यको दायित्व रहेको बताएका छन्।

मंगलबार मन्त्रालयमा रूसी सेनामा भर्ना भएका नेपालीहरूका आफन्तसँग भएको छलफलमा मन्त्री साउदले उक्त कुरा बताएका हुन्।

‘लिगल्ली गएको भए हुन्थ्यो। इल्लिगल्ली गएका छन्। जसरी गएका भए पनि उनीहरूप्रति राज्यको दायित्व छ,’ मन्त्री साउदले भने, ‘आफ्ना नागरिकप्रति सरकार सधैं जिम्मेवार हुनुपर्छ, हुन्छ।'

रूसी सेनामा भर्ना भएकालाई फिर्ता ल्याउन कुनै पनि कमीकमजोरी नहुने मन्त्री साउदले बताए।

'रूसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाइँमा मृत्यु भएकाहरूको शव नेपाल ल्याउन प्रयास गरिरहेका छौं,' मन्त्रीले भने, ‘त्यसका लागि काठमाडौंस्थित रूसी दूतावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमहरूबाट नेपाल सरकार रूसी पक्षसँग निरन्तर सम्पर्कमा छ।’

मन्त्री साउदले कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रूसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाका परिवारले निवदेन दिएको पनि बताए।

घर परिवारले भर्ना भएका व्यक्तिबारे कन्सुलर विभागमा आवेदन दिए सरकारलाई रूसी सेनामा भर्ना भएका नागरिकको स्थिति यकिन गर्न सहज हुने मन्त्री साउदले बताए।

साउदले रूसी सेनामा भर्ना भएका नेपाली नागरिकबारे सरकारले राखेका कतिपय मुद्दाहरूमा रूसी पक्ष सकारात्मक रहेको जानकारी दिए।

Published on: 28 February 2024 | Setopati

Link

Back to list

;