s

रूस–युक्रेन युद्धमा घाइते भएर अस्पतालमा छन् माओवादीका पूर्वलडाकू

दाङका एक युवा युद्धमा घाइते भएर रुसमा उपचार गराइरहेका छन्। उनी माओवादीका पूर्वलडाकू पनि हुन्।

दाङकै अर्का युवा युक्रेनी सेनाको कब्जामा छन्। यी दुवै जना तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी हुन्।

२३ वर्षीय प्रतीक पुनको एक साताअघि युक्रेनी सेनामा रहेको भन्ने भिडियो सार्वजनिक भएको थियो। घर परिवारले भने उनको त्यो भिडियो मंसिर २४ गते हेरेका थिए।

प्रतीकको भन्दा झन्डै ८ सय मिटर दुरीमा पर्छ ३७ वर्षीय रामचन्द्र खड्काको घर। पिपलडाँडास्थित थान गाउँका खड्का एक महिनाअघि नै युद्धमा घाइते भएका थिए। युक्रेनी सेनाको आक्रमणबाट उनको खुट्टा र ढाडमा बमका छर्रा लागेको छ। घाइते भएका उनको रुसको अस्पतालमा उपचार भइरहेको छ। खड्काले परिवारसँग नियमित कुराकानी गर्दै आएका छन्।

प्रतीक पुनलाई युक्रेनमा बन्दी बनाइएपछि भने परिवारमा सन्नाटा छाएको छ।

तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत् पर्ने बिजौरी बजारको झन्डै ५० मिटरभित्र उत्तरतिर पर्छ प्रतीकको घर। बुधबार अपराह्न प्रतीकको घर पुग्दा छतभरि महिला मात्रै बसिरहेका देखिए। बाहिर आँगनमा दुई–तीन जना पुरूष थिए। समूहमा जनप्रतिनिधि पनि थिए।

समूह छिचोल्दै हामी माथि छतमा गयौं। आमा तीलकुमारीको गला अवरूद्ध देखिन्थ्यो। ज्याला मजदुरी गरेर खाने परिवार रहेछ प्रतीकको। सम्पत्ति भन्नु उनीहरूको तीन कोठाको एक तले घर। जुन घर उनका श्रीमान् ताराबहादुरले मलेसियामा निर्मम श्रम गरेर फर्किएपछि बनाएका थिए।

ताराबहादुरको ४६ वर्षको उमेरमा २०७९ साउनमा मृत्यु भइसकेको छ। उनी मिर्गौला रोगी थिए। बाबुको उपचार गराउँदा ऋणमा डुबेपछि प्रतीक विदेस गएका थिए।

प्रतीक गत साउनमा विद्यार्थी भिसामा रूस पुगेका थिए। सुरुमा उनले पढ्दै काम गर्दै कमाए। एक पटक एकलाख रुपैयाँ आमालाई पठाए पनि।

छोराले त्यही पैसा पठाइदिएपछि हो, आमा तीलकुमारीले ज्याला मजदुरी गर्न छाडेको। ‘प्रतीकले अबदेखि तपाईंले लेबर काम नगर्नू मम्मी! तपाईं घरमै बस्नूस्। काम गर्न कतै नजानु होला। दुःख म गर्छु, भनेको हुँदा मैले त्यो काम छाडेँ,’ तीलकुमारीले बिलौना गरिन्, ‘त्यही आशले मैले भताभुङ्ग घर जोड्न एउटा भैंसीको थोरे र दुई वटा पाठापाठी किनेकी थिएँ।’

श्रीमानको उपचार गर्दाको ऋण थियो। साहु घरमै आएर ताकेता गर्न थाले। साहुले रातदिन कचकच गर्न थालेपछि सोमबार मात्रै उनले आफन्तको सहयोगमा भैंसीको थोर बेचिन् र साहुको ऋण तिरिन्।

ऋणकै त्रासले १२ कक्षासम्म पढेका प्रतीक रूस हानिएका थिए। विद्यार्थी भिसामा रूस गएका उनलाई त्यहीँका दलालले रूसी फौजमा भर्ती हुने सपना देखाइदिएछन्। घरको ऋणले आत्तिएका प्रतीक दायाँबायाँ नसोची गत असोजमा रूसी फौजमा भर्ती भएछन्।

युद्धग्रस्त क्षेत्रबाटै उनी युक्रेनी सेनाको नियन्त्रणमा पुगेका हुन्। एक्लो छोरा युक्रेनी सेनाको कब्जामा रहेको भिडियो हेरेदेखि आमा तीलकुमारी र उनका दिदी बहिनी कसैको पनि आँखा ओभाएका छैनन्। ‘सरकारले मेरो छोरोलाई सकुशल ल्याइदिए हुन्थ्यो। सरकारसँग मेरो यति माग छ,’ आमा तीलकुमारीले भनिन्।

यस्तै पीडामा छ, पिपलडाँडा, थान गाउँका रामचन्द्र खड्काको परिवार।

रामचन्द्रको कच्ची घरमा पुग्दा उनका १७ वर्षीय छोरा हरिश खड्का मात्रै भेटिए। उनी तुलसीपुरस्थित ज्ञानज्योति माविमा कक्षा ११ मा पढ्दा रहेछन्। उनका १२ वर्षीय भाइ कक्षा सातमा अध्यनरत छन्।

हरिशका बुवा रामचन्द्र रूस–युक्रेन युद्धमा घाइते भएको र अस्पतालमा उपचार गराइरहेको उनलाई थाहा रहेछ। उनका बुवाले ‘गाउँमा कसैलाई नभन्नु’ भनेकाले छरछिमेकीले सुइँको पाएका रहेनछन्।

‘घरको ठूलो र जेठो मान्छे त नै होस घर परिवार सबैलाई राम्रो ख्याल गरेस् भनेर बाबाले मलाई सम्झाउनु भएको हो,’ हरिशले भने ‘त्यो भन्दा बढी कुरा उहाँले गर्नु भएन। तर ममीसँग भने दिनहुँजसो कुरा भइरहन्छ।’

रामचन्द्र तीन महिनाअघि झन्डै ७ लाख खर्चिएर भारतको नयाँ दिल्ली, हैदराबाद हुँदै दुबईबाट रूस पुगेको उनको परिवारले बतायो। तर, दलाल को हो भनेर खुलाउन चाहेन।

रामचन्द्रको बायाँ खुट्टा, तिघ्रा र ढाडमा बमका छर्रा लागेको छ। उनको अवस्था गम्भीर छ। अहिले अस्पतालकै शय्यामा छन्। शय्याबाटै परिवारसँग नियमित सम्पर्क हुन्छ।

रामचन्द्रको पुर्ख्यौली घर रूकुम खारा हो। परिवारका सदस्यले बताएअनुसार नेकपा (माओवादी) को सशस्त्र संघर्षताका उनी ‘जनमुक्ति सेना’मा थिए।

रामचन्द्र माओवादी लडाकू कम्पनी कमान्डरसम्म भए। शान्ति प्रक्रियापछि रोजगारीको खोजीमा अफगानिस्तान पुगेका खड्का त्यहाँ नेटो सेनाको सहयोगी भएर दुई वर्षभन्दा बढी काम गरे तर पछिल्लो समय उनी माओवादीका कटु आलोचक मात्रै थिएनन्, जरोकिलो पार्टीमा आबद्ध भएका थिए।

त्यसपछि वैदेशिक रोजगारीका लागि मलेसिया, दुबई, कुवेतमा तीन वर्ष बिताएका थिए। २०६८ सालमा उनको परिवार रूकुमबाट दाङ झरेको थियो।

रामचन्द्र सोही ठाउँमा जग्गा भाडामा लिएर व्यवसायिक कागती खेती गरी राम्रै मुनाफा लिइरहेका थिए। जग्गाको लिजको सम्झौता सकिने अवधि नजिक आएपछि र कागती खेती बाट हात नलागेपछि उनी हरेश खाएका थिए। त्यही निराशाले उनलाई दलालको सम्पर्कमा पुर्‍यायो।

रूसमा राम्रो कमाई हुने दलालले बताएपछि उनी ऋण काढेर त्यता हानिएका थिए। श्रीमती तुलसी र छोरा हरिशले रामचन्द्रको रूसमा उपचार भइरहेको र सकुशल स्वदेश फिर्ताका लागि राज्यले पहल गर्नुपर्ने बताए।

‘यहाँ आएर पनि उपचार गर्न तत्काल हामीसँग पैसा छैन। अहिले त्यहाँ उपचार भइरहेको छ भनेर भन्नुभएको छ,’ श्रीमती तुलसीले भनिन् ‘उहाँको उपचारपछि घर फर्काउन राज्यले पहल गरोस्।’ उपचार पछि फेरि युद्धमै फर्काउने भयले आफू पिरोलिएको उनले सुनाइन्।

तुलसी बसेको क्षेत्र दाङको क्षेत्र नम्बर २ हो। त्यहीँबाट निर्वाचित सांसद रेखा शर्मा अहिले सञ्चार मन्त्री छिन्। तुलसीले मन्त्री शर्मासँग श्रीमानलाई स्वदेश ल्याउन भनेकी रहिछन्। आशावादी तुलसीले धेरै खुलाउन चाहिनन्। छोरा हरिशले बुवा घाइते भएको सुनेपछि आमा मानसिकरूपमा निकै कमजोर बनेको बताए।

‘ममी पनि बुवा घाइते भएको सुनेदेखि निकै तनाबमा हुनुहुन्छ। उहाँ निकै चिन्तित हुनुहुन्छ र औषधि खाइरहनु हुन्छ,’ उनले अनुहार मलिन बनाउँदै भने, ‘सरकारले बुवाको उद्धार गरिदिए ममीको अवस्था सुध्रन्थ्यो नि!’

Published on: 14 December 2023 | Setopati

Link

Back to list

;