s

रुस-युक्रेन लडाइँमा दाङका खड्का घाइते

दाङ — रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा होमिएका दाङका एक युवक घाइते भई उपचार गराइरहेको खुलेको छ । दाङ तुलसीपुरका ३७ वर्षीय रामचन्द्र खड्का तीन महिनाअघि ७ लाख रुपैयाँ खर्चेर भारतको नयाँदिल्ली, हैदराबाद हुँदै दुबईबाट रुस पुगेका थिए । खड्का लडाइँका क्रममा युक्रेनको बागमोथमा बम आक्रमणमा परी घाइते भएका थिए ।

रुस–युक्रेन युद्धमा घाइते भई उपचाररत दाङ तुलसीपुर–१९ थानगाउँका रामचन्द्र खड्का । उनी तीन महिनाअघि दुबई हुँदै रुस पुगेका थिए ।

रुसमै रहेका अर्का नेपालीले बायाँ खुट्टा, साप्रा र कम्मरमा बमका छर्रा, गोली लागेका खड्काको मस्कोस्थित अस्पतालमा उपचार थालिएको बताए । उनलाई घटनास्थलबाट हवाई उद्धार गरिएको थियो । रुकुमको खारा मूल घर भएका खड्का पढाइ छोडेर तत्कालीन माओवादी लडाकुमा कम्पनी कमान्डरसम्म भएका थिए । शान्ति प्रक्रियापछि रोजगारीको खोजीमा अफगानिस्तान पुगेका खड्का त्यहाँ नेटो सेनाको सहयोगी भएर दुई वर्षभन्दा बढी काम गरेका थिए ।

त्यसपछि वैदेशिक रोजगारीका लागि मलेसिया, दुबई, कुवेतमा तीन वर्ष बिताएका थिए । २०६८ सालमा रुकुमबाट दाङ झरेका उनले तुलसीपुर उपमहानगरपालिका–१९, थानगाउँमा व्यावसायिक कागती खेती पनि गरेका थिए । त्यसबाट खासै उपलब्धि नभएपछि उनी रुसी सेनामा सहजै भर्ती हुने सुनेर त्यता लागेका थिए ।

रामचन्द्रका बुबा, श्रीमती र दुई छोरा छन् । खड्का उपचारक्रममा लामो समय अस्पताल बस्नुपर्ने हुन सक्ने जानकारी पाएका परिवारजन उनी पुनः लडाइँमा फर्कनुपर्ला कि भन्ने चिन्तामा छन् ।

Published on: 12 December 2023 | Kantipur

Link

Back to list

;