s

रुसमा १० नेपाली अलपत्र

रुस पुगेर अलपत्र परेका १० नेपाली मस्कोस्थित नेपाली दूतावासको शरणमा पुगेका छन् । रुसको पिटर्सवर्गमा बस्ने श्रीलंकन एजेन्ट अहसन दाउदको नेटवर्किंबाट विभिन्न नेपाली दलालहरू हुँदै दुई महिनाअघि -जुलाई ७) मा रुस पुगेका नेपालीले बढीमा साढे सात लाख रुपैयाँसम्म एजेन्टलाई बुझाएका थिए ।

मस्कोस्थित दूतावासका द्वितीय सचिव गेहेन्द्र राजभण्डारीका अनुसार कुनै भिसा, कागजातबिना अलपत्र अवस्थामा रहेका नेपाली गत सोमबार पिटर्सवर्गबाट मस्को दूतावास-६ सय किलोमिटर दूरी) मा शरण लिन पुगेका हुन् । 'अहिले दूतावास परिसरमा खानपिनको प्रबन्ध गरिएको छ,' राजभण्डारीले कान्तिपुरसँग फोनमा भने ।

२७ दिनको पर्यटक भिसामा रुस छिरेका उनीहरू गैरकानुनी अवस्थामा रहेकाले हिँडडुल र सम्पर्क गर्न असहज भएकाले उद्धार प्रक्रिया अघि बढाइएको उनले बताए । रुसमा गैरकानुनी हैसियतका विदेशीमाथि हदैको कारबाही हुने नियम रहेकाले 'एक्जिट भिसा' दिलाउन पनि अदालति प्रक्रियाबाट अघि बढ्नुपरेको र शुक्रबार मात्रै अदालतले यी १० नेपालीलाई १० दिनभित्रमा रुस छाडेर जाने अनुमति प्रदान गरेको राजभण्डारीले जानकारी दिए ।

यस्तै अदालति निर्णयमा यी नेपालीले कुनै हैसियतमा पनि अबको ५ वर्षसम्म रुसमा प्रवेश पाउने छैनन् । आश्रयमा रहेका १० मध्ये ७ जनाको घरफिर्ती टिकटका लागि -जनही १ हजार डलर) रकमको जोहो उनीहरूले गरेको भए पनि बाँकी तीन जनाको पैसा जुट्नासाथ नेपाल फिर्ता पठाइने उनले बताए । अलपत्र परेका नेपालीको आग्रहमा उनीहरूको नाम भने दूतावासले खुलाउन चाहेन ।

Published on: October 2012 | Kantipur

Back to list

;