s

रुसी बंकरमा बिलायो ऋण तिर्ने सपना

दोलखा — ऋणले थिचिएपछि रुसी सेनामा भर्ना भएका मेलुङ गाउँपालिका–६ सुनुवारपानी टोलका राजकुमार रोक्काको मृत्युले गाउँ नै शोकमा डुबेको छ । २०६४ मा १९ वर्षको छँदा सशस्त्र प्रहरीमा भर्ना भएका राजकुमारले ६ वर्षमै जागिर छाडेर घर सजावट व्यवसाय सुरु गरेका थिए ।

२०७० मा सुरु गरेको व्यवसायमा घाटा लागेर ऋणले थिचिएका उनी मकाउ जाने तयारीमा थिए । साथीको लहलहैमा गत असोज १७ गते भिजिट भिसामा रुस पुगेका उनको मृत्यु भएको खबर मंगलबार बिहान मात्रै परिवारले पाएको हो ।

मस्कोस्थित नेपाली राजदूतावासले रुसी सेनामा कार्यरत राजकुमारसहित स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तानको मृत्यु भएकाले शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई मंसिर ८ गते पत्राचार गरेको थियो । यसबारे मन्त्रालयबाट पठाएको पत्र मंगलबार मात्रै राजकुमारको घरमा पुगेको हो । साथीहरूको म्यासेजका भरमा रुस पुगेका राजकुमारले दाजुबाहेक घरका कसैलाई रुसी सेनामा जानेबारे बताएका थिएनन् ।

मंगलबार एकाएक परराष्ट्र मन्त्रालयबाट राजकुमारको मृत्यु भएको पत्र आएपछि रोक्का परिवार स्तब्ध बनेको छ । उनका जेठा दाजु सुमनकुमारले सेनामा नजान पटकपटक सम्झाउँदा पनि ‘म फौजमा काम गरेको मान्छे एक वर्ष त हो’ भन्दै भिजिट भिसामा गएको बताए । ‘जागिर छोडेर व्यापार गर्‍यो, आर्थिक संकटमा परेपछि भाइ विछिप्त भएको थियो,’ उनले भने, ‘व्यापारमा सफलता मिलेन, विदेश जान्छु भन्थ्यो, पहिला अरू काम खोज्छु केही नभए एक वर्ष रुसको सेनामा भए पनि काम गर्छु भनेको थियो । त्यहाँ पुगेपछि कहिल्यै सम्पर्क भएन ।’

राजकुमारका जेठा छोरा राजधानीकै एक विद्यालयमा पढिरहेका छन् । उनकी श्रीमती र १६ महिनाकी छोरीलाई भने हेरचाहका लागि दसैंअघि गाउँ ल्याइएको थियो । दुई साताअघि तालिमका क्रममा बंकरभित्र मृत्यु भएको खबर मंगलबार मात्रै परिवारले पाएको हो । सुमनकुमार भाइको शव ल्याउन चाँजो मिलाउन परराष्ट्र मन्त्रालयतिर हिँडेका छन् ।


‘ऋणको भारीले भाइ त गुमाइसक्यौं । अब शव ल्याउन निकै कठिन छ भन्छन् । घरमा १६ महिनाकी सुत्केरी बुहारी बेहोस छे,’ उनले भने, ‘भिजिट भिसामा गएको मान्छे कसरी सेनामा भर्ती भएको पत्तै पाएनौं । एकाएक तालिमका क्रममा मृत्यु भयो भनेर खबर आयो । अझै पनि विश्वास लागेको छैन ।’

गाउँमा सहयोगी र मिलनसार राजकुमारको खबरले गाउँ नै स्तब्ध बनेको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले बताए । रुस–युक्रेन युद्धपछि रुसी सेनामा सहजै भर्ना पाउने हल्लाले उनी त्यहाँ गएको एक आफन्तको भनाइ छ ।

Published on: 29 November 2023 | Kantipur

Link

Back to list

;