s

रुपैडिहामा अलपत्र परेका कर्णालीका दुई सयको उद्धार

मानदत्त रावल

 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बाँकेको नेपाल–भारत सीमा रुपैडिहामा अलपत्र परेका नागरिकलाई उद्धार गरिएको छ । लकडाउनका कारण ४५ दिनदेखि अलपत्र परेका कर्णाली प्रदेशका दुई सय जना नागरिकको उद्धार गरिएको हो ।

रोजगारीको सिलसिलमा भारत गएका उनीहरू डेढ महिनादेखि स्वेदश फिर्ताको लागि रुपैडिहामा कुर्दै बसेका थिए । रुपैडिहामा आइपुगेका उनीहरूलाई कहिले बहराइज त कहिले नानपारामा रहेकाे क्वारेन्टाइमा राखिएको थियो । बिहीबार उनीहरूलाई सीमा क्षेत्रमा ल्याएर छाडिएको थियो । जुम्लाको हिमा गाउँपालिका–१ का गगनबहादुर शाहीका अनुसार बिहीबार मध्यरातमा भारतीय सुरक्षाकर्मीले सीमा नाका रुपैडिहा ल्याएर छाडेको हो । बिहीबारदेखि  चाउचाउको भरमा बसेको उनले बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सीमा नाकामा अलपत्र परेका नागरिकहरूलाई जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा प्रहरी स्कर्टिङ गरेर जिल्लामा ल्याउने काम भइरहेको छ । ‘शनिबारसम्म जिल्लामा पुग्छन् होला,’ उनले भनिन्, ‘बाहिरबाट आएका नागरिकलाई जिल्लास्तरीय क्वारेन्टाइन कर्णाली प्राविधिक शिक्षालयमा राख्ने तयारी भइरहेको छ ।’

उद्धार गरी ल्याइएका हिमा गाउँपालिकाका २८ जना नागरिकको नाग्मदेखि प्रहरी स्कर्टिङबाटै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । उनले भने, ‘सुरक्षा व्यवस्था कडा पार्न र उनीहरूलाई चेकजाँच पनि व्यवस्थित बनाउन जिल्लास्तरको एकै स्थानमा क्वारेन्टाइन बनाएर राख्ने व्यवस्था गरिएको हो ।’

Published on: 15 May 2020 | Nayapatrika

Link

Back to list

;