s

रूखमुनि रात काट्दै साउदीमा नेपाली

होम कार्की

आममाफीको अवसरमा घर फिर्न काम छाडेर बसेका ठूलो संख्याका नेपाली साउदी अरबका विभिन्न ठाउँमा अलपत्र परेका छन् । साउदी सरकारका निकायहरूबीच आपसी समन्वय नहुँदा उनीहरू अप्ठ्यारोमा परेका हुन् । उनीहरू दमाम, जेद्दाका पार्क, पुल र रूखमुनि रात काट्न बाध्य छन् । सबै प्रक्रिया पूरा भए पनि हवाई टिकट नपाएर खजुरको रूखमुनि बस्न बाध्य भएकाहरू पनि त्यतिकै छन् । दमामस्थित सिको गार्डेनमा मात्रै खजुरको रूखमुनि तीन सयभन्दा बढीले रात काटिरहेका छन् । जेद्दास्थित पुलमुनि पनि सयौं छन् । कतिपय सानो कोठामा कोचिएर बसेका छन् ।

दिनभर साउदीको चर्को घाममा पासपोर्ट कार्यालयअगाडि लाइनमा बसेर हैरानी खेपेका नेपाली रात बिताउन खजुरको रूखमुनि, पुल र पार्कमा पुग्ने गरेको पीडितले बताएका छन् । हाउसमेडमा आएर भागेका ६० भन्दा बढी महिला दूतावासमा शरण लिन पुगेका छन् ।

'घर फिर्ती प्रक्रियामा सामेल भएको ढेड महिना हुन लाग्यो, सम्भव भएको छैन । मजस्ता सयौंको संख्यामा रहेका नेपाली जेद्दा पुलमुनि बसिरहेका छन्,' जेद्दाबाट सम्पर्कमा आएका पुतली बजार स्याङ्जाका रमेश ढुंगानाले भने, 'हामीलाई बास दिने निकाय छैन । घर जानका लागि काम गर्ने कम्पनी छोडिहाल्यौं । काम पनि छैन, बिहान खाए बेलुका के खाउँ भएको छ ।'

कामदारलाई 'प्रवेश' गरेकै नाकामा पठाइदिएपछि सुत्न बस्न समस्या भएको हो । 'म जेद्दामा काम गथेर्ं, दमामबाट साउदी प्रवेश गरेकाले त्यतै जान भनेपछि दमाम आएँ,' मकवानपुर पदमपोखरीका रामचन्द्र ढुंगानाले भने, 'डकुमेन्ट बुझाउन आएको १५ दिनपछि म्याद दिएको थियो, भन्नेबित्तिकै छोटो समयका लागि कोठा पाइँदैन । त्यतिञ्जेलसम्म पार्कमै आफ्नो लगेजसहित बस्नुको विकल्प छैन ।'

साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले साउदी निकायको सुस्त प्रक्रियाका कारण सबैले समस्या पाएको बताए । 'यहाँको स्थिति निकै कठिन र अस्तव्यस्त बनिरहेको छ । महिलाको संख्या पनि अस्वाभाविक रूपले बढेको छ,' राजदूत उदयराज पाण्डेले भने, 'हामीले थेग्न सकिरहेका छैनौं । हामी स्थिति सामान्य बनाउन प्रयासरत छौं ।'

दूतावासले ३५ हजार नेपाली कामदारलाई आउटपास बनाएको छ । त्यसमध्ये थोरै मात्रै स्वदेश फिर्न पाएका छन् । दूतावासका अनुसार रियादबाट अलि बढी घर फिर्नेहरू गइरहेका छन् । दमाम र जेद्दाबाट साताको एक पटक मात्रै पालो आउने भएकाले त्यताको स्थिति असामान्य बनेको हो ।

अपि्रल ५ भन्दा पछि भागेकालाई, भिसाको म्याद बाँकी भएका, कम्पनीले भागेको भनेर घोषणा नगरेकाहरू घर फिर्नबाट वञ्चित रहेको राजदूत पाण्डेले बताए । 'दमाम र जेद्दातिर दिनमा एक हजार जति लाइन बसेका छन् भने दुई सय जनालाई मात्रै सेवा मिलेको छ,' राजदूत पाण्डेले भने, 'दिनभर चर्को घाममा लाइन बसेर र्फकनुपरेपछि सबैमा आक्रोश बढेको छ ।' 'घरफिर्तीका लागि राहदानी अपिसमा एक पटक जानुपर्छ । त्यहाँ आफ्नो आउटपास वा राहदानी नम्बर दर्ता गराउनुपर्छ । कति त लाइन घन्टौं बसेर आफ्नो आउटपास बुझाउँदा राहदानी अफिसले फालिदिने गरेको छ,' हेटौंडाका दयाराम सिग्देलले भने, 'कतिलाई आज नेपालीको पालो होइन भनेर फिर्ता पठाइदिने गरेका छन् ।' 

प्रक्रिया पूरा भइसकेर विमानस्थल पुग्दा पनि धेरै नेपाली फर्काइदिने गरेको छ । 'कामदारलाई उपलब्ध गराएको नम्बर विमानस्थल नपुगिसकेको, साउदी अबरमा अवैधानिक तबरले भित्रिएको, अदालतमा केस परेको र छिनोफानो भइनसकेको, आफ्नो व्यक्तिगत विवरण गलत भएको, अध्यागमनमा फिंगर पिन्ट नभएको र ट्राफिक प्रहरीमा आफ्नो नाममा रहेको जरिवाना तिर्न बाँकी रहेकोलाई विमानस्थलबाट फिर्ता पठाइदिने गरेको छ,' राजदूत पाण्डेले भने ।

जेद्दा, दमामजस्ता धेरै टाढा रहेको ठाउँहरूबाट राहदानी लिन रियादस्थित नेपाली दूतावासमा पुग्न समस्या परेको छ । '१५ सय किमि पार गरेर दूतावासमा राहदानी लिन जानै गाह्रो भयो,' ढुंगानाले भने, 'राहदानी पाए मैले वैध भएर नयाँ काम पाउँथे । हातमा अफर लेटर छ, तर राहदानी छैन ।'

Published on: 21 June 2013 | Kantipur

Back to list

;