s

रोमानियामा नेपाली अलपत्र

होम कार्की

काठमाडौँ — रोमानिया पुगेका नेपाली युवा बिचल्लीमा परेका छन् । नियमित तलब नपाएपछि केही नेपाली घर फर्केका छन् भने केही कम्पनीमै कामविहीन भएर बसेका छन् । आफूसहित १२ नेपालीले काम छाडेको १० दिन बितेको त्रिशूली नुवाकोटका शंखरमान श्रेष्ठले बताए । काम दिने ठेकेदार (रोजगारदाता) ले नियमित तलब नदिएपछि उनीहरू काममा फर्केका छैनन् ।

शंखरमान रोमानियाका लागि मंसिर ७ गते काठमाडौंबाट उडेका थिए । दुबईमा २० घण्टा ट्रान्जिटमा बसेपछि उनी रोमानियाको राजधानी बुखारेस्टस्थित हेनरी कोन्डा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २३७ किमि टाढाको सहर क्रायोभा पुगेका थिए । अहिले क्रायोभास्थित एउटा घरमा शंखरमानसहित सोलुखुम्बुका याङदोर्जे तामाङ, धनसिंह तामाङ, रोल्पाका रामप्रसाद पुन, धादिङका राजकुमार शाक्य, सुरज शाक्य, सिन्धुपाल्चोकका पासाङ शेर्पा, पाल्देन शेर्पा, दिनेश मगर, कञ्चनपुरका करण चन्द, काठमाडौंका विजता तामाङ र रमेश लामा रहेका छन् । ‘एउटै ठेकेदारसँग काम गर्ने २९ जना नेपाली थियौं । हामीभन्दा अगाडि आएका साथीलाई तलब नदिई काममा लगाइएको रहेछ,’ शंखरमानले भने, ‘तलब नपाउने स्थिति नभएपछि १६ जना साथीहरू कम्पनीसँग रिलिज पेपर लिएर हिँडे । एक जना नेपाल फर्के । हामी १२ जना अझै कम्पनीमै बसिरहेका छौं ।’

उनीहरूलाई काठमाडौं इन्टरनेसनल म्यानपावर कम्पनीले कन्डोर रेक्रुटमेन्ट सर्भिस कम्पनीमा पठाएको थियो । कन्डोरले उनीहरूलाई विभिन्न ठेकेदार कम्पनीमार्फत् काममा पठाएको हो । ‘हामीलाई एउटा भवनको मर्मतसम्भारको काम गरायो । घरको ब्लक लगाउने काम गर्‍यौं । सरकारी निकायले पैसा दिएको छैन भन्दै तलब दिइएको छैन,’ शंखरमानले भने, ‘म आएको ५ महिना पुग्यो, अहिलेसम्म पटकपटक गरी एक महिनाको २५ सय दियो । नेपाली रुपैयाँ करिब ७२हजार मात्रै पाएँ ।’

म्यानपावर कम्पनीले मासिक ५५० डलर (करिब ७२ हजार रुपैयाँ) पाउने गरी पठाएको थियो । त्यसका लागि उनीहरूले म्यानपावर कम्पनीलाई ५ लाख ५० हजारदेखि ६ लाख १० हजार रुपैयाँसम्म सेवा शुल्क बुझाएका छन् । ‘नियमित तलब दिन नसकेपछि साथीहरू दुई महिनाको तलब छाडेर रिलिज पेपर लिएर कम्पनीबाट निस्केका हुन्’, सोलुखुम्वुका याङ्दोर्जे तामाङले भने, ‘यहाँ कामको कुनै ठेगान नहुने रहेछ । ठेकेदारले जे लगायो, त्यही गर्नुपर्छ । कम्पनीको कुनै नियम छैन ।’ उनीहरूको बस्ने क्याम्प पनि गुणस्तरीय छैन । पुरानो भवनको सानो कोठामा चार जनासम्म कोचेर राखिएको उनले बताए । ‘मलाई त साउदी–मलेसिया नै ठीक लाग्यो । त्यहाँ कम्पनीको एउटा नियम हुन्छ, तलब नियमित पाइन्छ,’ उनले भने, ‘केही पर्नासाथ दूतावासलाई भन्न हुन्थ्यो । यहाँ त केही छैन ।’ नियमित तलब नपाएपछि पीडितहरू रोमानियाको श्रम कार्यालय पुगेका थिए । तर, भाषाको कारणले उजुरी दिन सकेनन् । ‘हामीलाई एउटा फाराम दिइएको थियो । त्यो रोमानिया भाषामा भएकाले केही पनि बुझेनौं,’ राजकुमार शाक्यले भने, ‘कसैले सहयोग पनि गरेन । हामी त्यतिकै फर्केर आयौं ।’ ठेकेदारले सरकारी निकायले पैसा दिएपछि तलब दिने भन्दै काममा फर्कन आग्रह गरेको उनीहरूले बताए । ‘हामी यही कम्पनीसँग काम गर्ने कि रिलिज लिएर अन्त जाने भन्ने टुंगो लागेको छैन,’ उनले भने, ‘हामी म्यानपावर कम्पनीसँग सर्म्पकमा छौं । समस्या समाधान गर्ने आश्वासन दिएको छ ।’ ठूलो रकम खर्चेर युरोप आएको भन्दै पीडितहरूले सकेसम्म स्वदेश फर्कन नचाहेको बताएका छन् । ‘यत्रो रकम तिरेका छौं । ऋणकै भारी बोकेर स्वदेश फिर्ने रहर छैन । नेपालमा आएपछि पैसा उठाउन कठिन हुन्छ,’ शंखरमानले भने, ‘मिलेसम्म यहाँ नै रिलिज लिएर काम गर्ने हो ।’

उनीहरूले रोमानिया मामिला हेर्ने जर्मनीस्थित नेपाली दूतावासमा तलब ठेकेदारविरुद्ध उजुरी दिएका छन् । ‘रोमानियामा तलब नपाएको समस्या खासै आउने गरेको थिएन, यो पहिलो उजुरी हो,’ दूतावासका उपप्रमुख सागर फुँयालले कान्तिपुरसँग भने, ‘कम्पनीले यथासक्य छिटो तलब दिने प्रतिबद्धता जनाएको छ ।’

Published on: 17 April 2023 | Kantipur

Link

Back to list

;