s

रोकिएन म्यानपावर ठगी

सुबिना आचार्य

कैलालीका एक युवा काम गर्न पोल्यान्ड जाने निधो गरी ललितपुरको ग्वार्कोस्थित ग्रीष्मा ओभरसिजमा पुगे । कम्पनीले ८ लाखसम्म खर्च लाग्ने बतायो र सुरुमा १ लाख रुपैयाँ नजिकैको नबिल बचत तथा ऋण सहकारीमा रकम जम्मा गर्न भन्यो ।

‘१ लाख रुपैयाँ जम्मा गरेपछि कम्पनीले ६ देखि ८ महिनामा अफर लेटर आउने बतायो । त्यहीअनुसार ८ महिनासम्म कुरें,’ उनले भने, ‘१० औं महिनामा अफर लेटर आयो भनेर एउटा पत्र थमाए ।’ त्यसपछि उनलाई दिल्ली जान थप ७० हजार बुझाउन भनियो । त्यति पैसा बुझाएपछि पनि काम अगाडि बढेन । ‘कम्पनीमा जाँदा ताला लगाइएको थियो । बल्ल ठगिएको थाहा पाएँ,’ उनले भने । कम्पनीको विरुद्धमा उनले उजुरी गरे । ललितपुर जिल्ला अदालतमा मुद्दा चलेको तीन महिना भइसक्यो । ‘अदालत पनि धाउनु मात्रै भएको छ,’ उनले भने ।

ग्रीष्मा ओभरसिजको विरुद्ध ६ सय ९ वटा उजुरी दर्ता भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । पोल्यान्ड पठाउँछु भनेर कम्पनीका सञ्चालक हरिबहादुर लामा आफैंले सञ्चालन गरेकको नबिल बचत तथा ऋण सहकारीमा पैसा जम्मा गर्न लगाएर ५ करोड ४३ लाख रुपैयाँ ठगी गरेको परिसरका प्रवक्ता नारायणप्रसाद ठिमरियाले बताए । ‘छनबिन गरी कम्पनीका सञ्चालकविरुद्ध मुद्दा दर्ता गराएका छौं,’ उनले भने । अदालतको आदेशअनुसार ग्रीष्माका सञ्चालक हरिबहादुर लामा र म्यानेजर अरुणकुमार महतोलाई पुर्पक्षमा राखिएको छ ।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा ठगिनेमा व्यक्तिगत र संस्थागत गरी २ हजार १ सय २९ उजुरी वैदेशिक रोजगार विभागमा दर्ता भएका छन् । विभागमा व्यक्तिगत रूपमा १ हजार १ सय ९ उजुरी दर्ता भएका छन् भने संस्थागत रूपमा १ हजार २० उजुरी दर्ता भएका छन् ।

यसलाई निरुत्साहित गर्न व्यक्ति आफैं सचेत रहनुपर्ने विभागका प्रवक्ता भोलानाथ गुरागाईं बताउँछन् । ‘कसैले वैदेशिक रोजगारीमा लगाइदिन्छु भनेपछि व्यक्ति वा संस्थाबारे केही नबुझी जति पनि पैसा बुझाउन तयार हुन्छौं । पहिले त आफू सचेत हुनुपर्‍यो,’ उनले भने । उजुरी परेका सबैलाई कारबाही गर्न नसकिने उनले बताए । ‘कतिपय अवस्थामा हामीलाई पनि कानुनले बाँधेको हुन्छ,’ उनले भने ।

ठगीनेहरू अधिकांश प्रमाणबिना नै विभागसँग ठोकिने हुँदा कारबाही गर्न गाह्रो हुने उनको तर्क छ । ‘इजाजतपत्रवालाका विरुद्ध आएका उजुरीमा पीडितको समस्या समाधान गर्न प्रयत्न गर्छौं,’ उनले भने, ‘अनधिकृत तवरले वैदेशिक रोजगारमा संलग्न हुने र ठगी गर्नेलाई सामान्य अवस्थामा विभागबाटै अनुसन्धान तहकिकात गरी फर्छ्यौट गर्छौं । अवस्था जटिल छ भने विभाग आफैंले मुद्दा दायर गर्ने गरेको छ,’ उनले भने ।

Published on: 7 July 2019 | Kantipur

Back to list

;