s

रोजगारमन्त्रीको गाउँमा १३१ जनालाई जागिर

टोपलाल अर्याल

गुल्मीका स्थानीय तहले अहिले धमाधम प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका छन् । जसअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको गाउँमा एक सय ३१ जनाले रोजगारी पाएका छन् ।

बुधबार गाउँपालिका प्रमुख लक्ष्मण विष्टले सबैजनालाई नियुक्ति प्रदान गरे । गाउँपालिकाको वडा नम्बर १ र २ बाट १०÷१० जना, ३ बाट ३३ जना, ४ बाट ४३ जनाले रोजगारी पाएका छन् । त्यस्तै, वडा नम्बर ५ र ६ बाट २०÷२० जना रोजगार भएका छन् ।रोजगार पाएकामध्ये महिला ३८ जना र पुरुष ९३ जना रहेको गाउँपालिकाका रोजगार संयोजक गणेश कुँवरले बताए ।

१७ सयले फाराम भरे

गाउँपालिकामा १ चैत ०७५ देखि वैशाख मसान्तसम्म वडा कार्यालयमार्फत बेरोजगारीको तथ्यांक संकलन भएको थियो । जसमा १७ सय बढीले फारम भरेका थिए । फारम भरेकाहरूमध्ये रोजगार सेवा केन्द्रको रोहवरमा सम्बन्धित वडा कार्यालयले श्रमिक छनोट गरेको थियो । जसमा निर्वाहमुखी कृषि गरिरहेको, वैदेशिक रोजगारबाट फर्केको, अति कम आम्दानी हुने तथा न्यून वर्गको आधारमा छनोट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

यसभन्दा अगाडि गाउँपालिकाले २० जना लेन्थ वर्कर नियुक्त गरी रोजगार प्रदान गरेको थियो । धेरैजसो कामका क्षेत्रहरूमा महिलाको भन्दा पुरुषको ज्याला बढी हुने गर्दछ । तर, प्रधानमन्त्री रोजगार कार्यक्रममा समान ज्याला भएपछि महिलाहरू पनि खुसी भएका छन् । ‘गाउँमा काम एउटै तर ज्यालामा आधा फरक थियो,’ इस्मा गाउँपालिका–६ कि संगीता गौतमले भनिन्, ‘यो कार्यक्रममा समान ज्याला पाउँदा खुसी लाग्यो ।’  गुल्मीमा साढे १५ हजार व्यक्ती बेरोजगार देखिएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लाका १२ स्थानीय तहबाट १५ हजार तीन सय दुईजनाले बेरोजगारी भएको फाराम भरेका छन् । जसमध्ये एक हजार ६ सय २६ जनाले केन्द्रीय र बाँकी स्थानीय तहको बजेटबाट गरी करिब दुई हजारले रोजगार पाउनेछन् ।

 रेसुंगा नगरपालिकाबाट सबैभन्दा धेरै एक सय ८५ र मुसिकोट नगरपालिकाबाट एकसय ६७ जनाले रोजगारी रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । रेसुंगाबाट एक हजार ६ सय ८४ र मुसिकोट नगरपालिकाबाट ६ सय तीनजनाले बेरोजगार फाराम भरेका थिए । गुल्मीका प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी सिर्जना गर्न झन्डै चार करोड बजेट विनियोजन भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकाको लागि तीन करोड ७१ लाख ६९ हजार रकम मन्त्रालयले स्थानीय तहमा पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका स्वकीय सचिव गणेश श्रीपालीले बताए ।

Published on: 6 June 2019 | Nayapatrika

Back to list

;