s

रोजगारले फेरियो दैनिकी

प्रेमनारायण आचार्य

मालारानी गाउँपालिका ४ खन निवासी ४० वर्षीय सिता विक बिहान उठ्नेबित्तिकै घरको काम सकेर योजनाको कामतिर लाग्छिन् । छोराछोरीलाई विद्यालय पठाएर आफु पनि दिउसोको खाजा साथमा लिएर बेल्चा बोकेर सवेरै काम गर्ने ठाउँमा जान्छिन् । काम नहुँदा दिनभर घरमै बस्ने सितालाई हिजोआज घरयाँसी र गाउँको काम गर्न भ्याइ नभ्याई छ ।

सिता जस्तै मालारानीका एकसय ७२ जनाको दैनिकी फेरिएको छ। दिनभर घरमा खाली बस्ने मालारानी गाउँपालिका ६ की शोभा सारुमगरले रोजगारी पाएकी छन्। ‘कक्षा १२ को परीक्षा दिएर खाली बसेको थिएँ। काम नहुँदा दिनभर घरमा बस्नुपथ्र्यो, अहिले काम पाउँदा खुशी छु।’ अर्घाखाँचीका ६ वटा स्थानीय तहहरुमध्ये मालारानी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । अहिले गाउँका काम गर्नसक्ने सबैले रोजगारी पाएका छन् ।

चालु आवका लागि भएको ३८ लाख रुपैयाँमध्ये ९ लाख बराबरको औजार खरिद गरी गरिएको छ । बाँकी रकमबाट ९ वटा वडामा योजना छनोट गरी बेरोजगारलाई काममा लगाइएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । बाटो निर्माणको काम सुरु भएको १० दिनमा नै स्थानीयको सक्रियताले काम राम्रो भएको वडा नं ४ का अध्यक्ष बिष्णुप्रसाद पोख्रेलले बताए । ‘मेरो वडामा १४ ÷१४ जनाको चार समूह बनाएर काममा लगाएको छु । अहिले बाटो खन्ने काम भईरहेको छ । यसपछि चारवटा पोखरी निर्माण गर्ने भनेर स्टमेट भएको छ।’ पुरुषहरु रोजगारीका लागि बाहिर गएकाले अधिकांश काममा महिलाहरुको नै संलग्नता रहेको छ। दैनिक एकजनाले आठ घण्टा काम गरेवापत पाँचसय १७ रुपैयाँ ज्याला दिइएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक महेश भुसालले बताए।

Published on: 9 June 2019 | Annapurna Post

Back to list

;