s

रोजगारीमा रहेका नेपालीबारे भिडियो कन्फरेन्सबाट जानकारी

काठमाडौ - परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले पाँच मुलुकमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन त्यहाँ रहेका नेपाली नियुगप्रमुखसँग छलफल गरेका छन्। मन्त्रीद्वयले मंगलबार भिडियो कन्फरेन्स मार्फत मलेशिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकामा रहेका नेपाली नियोगप्रमुखसँग छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको हो। छलफलमा कोभिड १९ संक्रमणको स्थिति, ती मुलुकहरूमा रहेका नेपालीको अवस्था, कोरोना संक्रमणले अर्थव्यवस्थामा पार्नसक्ने असर तथा त्यसबाट नेपालीहरूको रोजगारीमा पर्ने सम्भावित प्रभाव जस्ता विषयमा छलफल भएको थियो।

छलफलमा नेपाली नियोग प्रमुखहरूले दूतावास रहेको तथा सहप्रमाणीकृत मुलुकहरूमा भएको कोभिड १९ को संक्रमणको अवस्था, त्यहाँको सरकारले संक्रमण नियन्त्रणका लागि चालेका कदम, नेपाली नागरिकहरूको अवस्था, दूतावासले नेपाली नागरिकलाई र्पुयाइरहेका नियमित र आकस्मिक सेवा लगायतका विषयहरूमा जानकारी गराएका थिए।

छलफलमा मन्त्री ज्ञवालीले नेपाल सरकारले संक्रमण नियन्त्रणका लागि चालेका कदमका बारेमा जानकारी गराएका थिए। उनले नियोग प्रमुखहरूलाई आफू प्रमाणीकृत मुलुकहरूमा भएका संक्रमण सम्बन्धी नियमित रूपमा प्रतिवेदन गर्न निर्देशन दिएका थिए।

मन्त्री ज्ञवालीले नियोग प्रमुहहरुलाई नेपाली नागरिकहरुको स्वास्थ्य, सुरक्षा तथा रोजगार सम्बन्धमा रोजगारदाता कम्पनी तथा सरकारसँग निकट सम्पर्कमा रही उनिहरुको तलव तथा सामाजिक सुरक्षाको निरन्तरताको पहल गर्न आग्रह गरेका थिए। उनले नेपाली नागरिकलाई स्थानीय सरकारले जारी गरेको सुरक्षा सम्बन्धी निर्देशन पालना गर्ने बारेमा सुसूचित गराउन तथा नेपाली समुदाय र दूतावास परिवार समेत संक्रमणका बारेमा जागरूक रही सुरक्षाका आवश्यक उपायहरू अवलम्बन गर्न निर्देशन दिएका थिए।

भिडियो कन्फरेन्समा श्रम मन्त्री यादवले नेपाली राजदूतावासप्रति अहिलेको संवेदनशील र अप्ठारो परिस्थितिमा विदेशमा रहेका नेपालीहरुको ठूलो भरोसा भएकाले स्थानीय सरकार एवं रोजगारदातासंग समन्वय गरेर परिआउने समस्या र चुनौतीहरुको सामना गर्न आग्रह गरेका थिए। भिडियो कन्फरेन्समा परराष्ट्र सचिव शंकरदास बैरागी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव बिनोद केसी तथा परराष्ट्र मन्त्रालयका महाशाखा प्रमुखहरुको समेतको सहभागिता रहेको थियो।

Published on: 26 March 2020 | Nagarik

Link

Back to list

;