s

रोजगारीमा कोरोना प्रभाव

कोरोना भाइरसको मुख्य प्रभाव क्षेत्र रहेको चीनको वुहान बिस्तारै तंग्रिन र काममा फर्कन थालेको छ । तर, यसको आर्थिक प्रभावले विश्वलाई नराम्ररी हल्लाउँदै गएको छ । पछिल्लो सयम कोरोनाको प्रभाव विस्तार हुँदै इरान, इटाली, फ्रान्स, जर्मनी, अमेरिका हुँदै विश्वव्यापी भएको छ । मानिसहरू घुमफिर गर्न मुलुक छाडेर बाहिर जाने त कुरै छाडौँ, घरबाहिर निस्कन पनि कम गर्दै गएका छन् ।

विश्वविद्यालय, कलेज तथा विद्यालय बन्द हुँदै छन् । खाना, खाजाको व्यवसाय चौपट भएको छ । मनोरञ्जन व्यवसायमा प्रभाव फैलिँदै छ । सबैभन्दा बढी प्रभाव भने पर्यटन क्षेत्रमै परेको छ । पहिलो देखिने मारमा हवाई सेवा प्रदायक कम्पनी परेका छन् । पर्यटन क्षेत्रसँग सम्बन्धित पेसा या रोजगारीमा रहेका सयौँ मानिसको पेसा जोखिममा परेको छ । यता नेपालजस्ता देशले भने यसको दुईथरी मार खेप्नुपर्ने भएको छ । पहिलो त नेपालमा खस्कँदो पर्यटन व्यवसायका कारण रोजगारी र आर्थिक कार्यकलापमा प्रभाव परेको छ । होटेल, रेस्टुरेन्ट, पर्यटक पथप्रदर्शक, ट्राभल एजेन्सीमा काम गर्नेहरू र हवाई सेवाका क्षेत्र यसमा प्रत्यक्ष रूपमा समस्यामा पर्ने देखिएको छ । पर्यटकलक्षित सानोतिनो कारोबारमा संलग्न पेसामा पनि चुनौती थपिएको छ ।

अर्को पाटो वैदेशिक रोजगारीको हो । नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको वैदेशिक रोजगारीको क्षेत्र कोरोनाका कारण जोखिममा परेको छ । मुख्य गन्तव्यमध्येका कतार र साउदी अरब तथा दक्षिण कोरिया कोरोनाको प्रभावमा परेका छन् । कतारले नेपालबाट आफ्नो देशमा जान प्रतिबन्ध लगाएको छ । यससँगै नेपाल वायुसेवा निगमले कतारको दोहामा साताभर गर्दै आएको उडानसमेत रोकेको छ ।

यता नेपालले नै पनि कतिपय देशमा जान श्रम स्वीकृति दिन रोक लगाएको छ । कतार जानका लागि मात्रै श्रम स्वीकृति लिइसकेका ४० हजार कामदारको यात्रा रोकिएको छ । यसले तत्कालका लागि रेमिट्यान्स आप्रवाहमा समस्या परे पनि दीर्घकालीन रूपमा भने रोजगारीको समग्र क्षेत्रलाई प्रभावित गर्नेछ । यस्तो रोजगारीमा जानु जोखिमपूर्ण हुन सक्ने विचारले कतिपयले आउने दिनमा वैदेशिक रोजगारमा जाने विचार त्याग्न पनि सक्नेछन् । यसको अर्थ हो, तत्कालका लागि त ढिलोचाँडो कोरोना प्रभाव सकिनेछ ।

फेरि रोजगारीमा जाने प्रक्रिया आरम्भ पनि हुनेछ । तर, दीर्घकालीन रूपमा भने यस्तो समस्या आएकै समयमा सरकारले नयाँ नीतिगत व्यवस्थामार्फत स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न प्रयास गर्नु उपयुक्त हुनेछ । यस अर्थमा यो अवसर पनि हो । वैदेशिक रोजगारका अवसर सधैँ स्थिर हुँदैनन् । यसमा पनि उतारचढाव आइरहन्छ । विश्वमा घट्ने घटनाका प्रभावले अहिले जुन–जुन देश नेपाली कामदारको गन्तव्य हुन्, त्यहाँको रोजगारी बन्द हुन पनि सक्छ । त्यसैले देशभित्र बसेरै काम गर्न र उत्पादनशील क्षेत्रमा योगदान गर्न सके दिगो रूपमा देशको आर्थिक विकासमा पनि टेवा पुग्छ ।

नेपालीहरू यता अवसर नपाएर या प्रयास गर्दा पनि नभएर मात्र बिदेसिएका छैनन् । तिनका अनेक मनोवैज्ञानिक र सामाजिक सांस्कृतिक मूल्यसँग गाँसिएका कारण पनि छन् । त्यस्ता कारणलाई छिमल्ने र यताका अवसरलाई उपयोग गर्न प्रेरित गर्ने यस्तै समयमा हो । यसका लागि सरकारले तत्काल ठोस योजना बनाएर सार्वजनिक गर्न सक्नुपर्छ । यही घटनाले देखाएको छ, रेमिट्यान्स कुनै पनि राष्ट्रका लागि दीर्घकालीन समाधान होइन । रोजगारी सिर्जना हुने उत्पादनमूलक कामका क्षेत्रहरू खोज र लगानी विस्तार गर ।

Published on: 12 March 2020 | Naya Patrika

Link

Back to list

;