s

रोजगारीको खोजिमा दुई महिनामै विदेशिए ३० हजार बढी युवा

कोभिड १९ महामारीकै बीच रोजगारीको खोजिमा दुई महिनामा ३० हजार युवा विदेशिएका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैशाख र जेठ महिनामा मात्रै ३० हजार ३९ युवाहरु विदेशिएका हुन्।

विभागको तथ्यांकले वैशाख महिनामा २४ हजार ३ सय ६३ युवाहरु अन्तिम श्रम स्वीकृति लिएर विदेशिएको देखाउँछ।

जेठमा ५ हजार ६ सय ७६ युवाहरुले अन्तिम स्वीकृति लिएका छन्। वैशाखको तुलनामा जेठमा विदेशिनेको संख्या घटेको छ।

सरकारले गत वैशाख १६ गतेदेखि गरेको निषेधाज्ञाका कारण यो संख्या घटेको विभागको भनाई छ।

निषेधाज्ञापछि सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि पुनःश्रम स्वीकृति मात्रै जारी गर्दै आएको छ। पुनःश्रम स्वीकृति पनि केही समय अगाडिसम्म अनलाईनमार्फत मात्रै गर्दै आएको थियो।

बायोमेट्रिक नहुनेहरुका हकमा अनलाईनमर्फत सेवा दिन नसकिएपछि हाल उनीहरुलाई भौतिक उपस्थितिमै सेवा दिदैँ आएको छ। सबै मुलुकमा उडान सहज नहुँदा पुनः श्रम स्वीकृति लिएका अधिकांश श्रमिकहरु पनि उड्न सकेका छैनन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि पछिल्लो ६ महिनामा अन्तिम श्रम स्वीकृति (संस्थागत, व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो।

बैंकको प्रतिवेदनअनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या पनि ४९ प्रतिशतले घटेको छ। जानेको संख्या घटे पनि रेमिट्यान्स भने बढेको छ।

अघिल्लो वर्षको तुलनामा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बृद्धि भएको बैंकको प्रतिवेदनमा उल्लेख छ।

Published on: 22 June 2021 | Setopati

Link

Back to list

;