s

रोजगारीका लागि विदेशिएका नेपालीसँग न काम न दाम

हाल संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका नारायण बस्नेत चार÷पाँच महिनादेखि अलपत्र परेका छन्। कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा लागू गरिएको लकडाउन (बन्दाबन्दी)का कारण कार्यरत कम्पनीले न काम दिएको छ न त दाम नै। युएईमा रहेका नेपालीमाझ कोठाभाडा तिर्न समेत महिनैपिच्छे ऋण खोज्नुपर्ने बाध्यता रहेको बस्नेतले बताए। ‘म आफै पीडित छु। तर, यहाँ मभन्दा पीडित कैयौं छन्। पाँच महिनादेखि काम पनि छैन, दाम पनि छैन। ऋण खोजेर कोठाभाडा तिर्नुपर्ने बाध्यता छ,’ बस्नेतले भने, ‘समस्यामा परेका दुई÷चार जना साथीहरु मेरो सम्पर्कमा आउनुभएको थियो। राहत जुटाएर उहाँहरुलाई जसोतसो खाना खाने व्यवस्था मिलाइएको छ। उहाँहरु घर जान तयार हुनुहुन्छ। तर, कम्पनीले वास्ता गरेको छैन।’  

लकडाउनका कारण रोजगार गुम्दा समस्यामा परेका कतिपय युवालाई नेपाली समाजका अगुवा गायक प्रकाश पौडेल, पत्रकार उमाकान्त पाण्डे लगायतको टोलीले दुई महिनादेखि राहत वितरण गरिरहेका छन्। युएईमा रहेका नेपालीलाई हाल जेनतेन खाना खाने व्यवस्था मिलाइए पनि उनीहरुले कोठा भाडा तिर्ने रकमको अभाव झेलिरहेका छन्। बस्नेतका अनुसार रोजगार गुमाएर अलपत्रको अवस्थामा दिन बिताइरहेका युवा पाँच सय दिराम (नेपाली ६० हजार) तिरेर जहाजको टिकट काटेर नेपाल फर्कने र क्वारेन्टिनमा बस्न सक्ने अवस्थामा छैनन्। जहाजको यात्रादेखि क्वारेन्टिनमा बस्नेसम्मको जिम्मा सरकारले लिनुपर्ने उनीहरुको माग छ। ‘नेपाली युवा ऋणमा डुबेर बस्नुभन्दा चाँडोभन्दा चाँडो नेपाल फर्कन चाहन्छन्। तर, हवाई टिकट काट्ने र क्वारेन्टिनमा बस्दा लाग्ने खर्च तिर्न सक्ने अवस्थामा छैनन्,’ बस्नेतले भने, ‘उहाँहरुको समस्या न कम्पनीले सुनेको छ, न त नेपाली दुतावासले नै सुनेको छ।’ प्रवासबाट फर्कने नेपालीलाई निःशुल्क टिकट र क्वारेन्टिनमा निःशुल्क बस्ने व्यवस्था मिलाए मात्र कोरोना भाइरस नियन्त्रणका क्रममा सरकारले १० अर्ब खर्च गरेको विषयलाई सकरात्मकरुपमा लिन सकिने बस्नेतले बताए। 

यस्तै, मलेसिया लगायतका देशमा रहेका युवाको समस्या पनि युएईको भन्दा फरक छैन। सम्पत्ति कमाउन विदेश पुगेको अवस्थामा लकडाउनका कारण उनीहरु पनि रोजगार गुमाएर अलपत्र छन्। स्वदेश फर्कन तमतयार आफ्नो नागरिकलाई नेपाल सरकारले उद्धार गर्नुपर्ने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटार घर भइ हाल मलेसियामा रहेका मात्रिका चाम्लिङले बताए। ‘मलेसियामा चार महिनादेखि तलवविहीन दुई हजार नेपालीले घर फर्कनका लागि आवेदन दिएका छन्,’ चाम्लिङले भने, ‘घर फर्कने यतिका रकम कसरी जुटाउन सक्लान् भन्ने कुरा नेपाल सरकारले बुझ्न जरुरी छ। आफ्नो नागरिकको माया भए नेपाल सरकारले चाँडै उद्धार गरोस्।’

Published on: 16 June 2020 | Nagarik

Link

Back to list

;