s

रोजगारीका लागि १० हजार युवाको आवेदन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा सुरु भएको श्रमाधान रोजगार मेलामार्फत मंगलबारसम्म १० हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् । यसमध्ये एक हजारको रोजगारी सुनिश्चित भएको र १६ सय ८७ युवालाई विभिन्न उद्योग प्रतिष्ठानले रोजगारीका लागि योग्य ठहर्‍याएर अन्तर्वार्ताका लागि बोलाएको मन्त्रालयले जानकारी दिएको छ । १७ जेठदेखि विराटनगरबाट सुरु भएको श्रमाधान मेलाको ललितपुरमा आज समापन हुँदै छ । १४ दिनको अवधिमा १० हजारभन्दा बढी युवाले रोजगारीका लागि आवेदन दिनु उत्साहजनक भएको श्रम मन्त्रालयले जनाएको छ ।

६ वटा प्रदेशको राजधानीमा श्रमाधान मेला भएको थियो । त्यसमध्ये धनगढीमा सबैभन्दा धेरै चार हजार एक सय ६६ युवाले रोजगारीका लागि आवेदन दिएका छन् । विराटनगर र जनकपुरमा दुई–दुई हजार, पोखरामा एक हजार तीन सय, सुर्खेतमा दुई सय ६७ र मंगलबारदेखि ललितपुरमा सुरु भएको मेलाको पहिलो दिन करिब तीन सय युवाले रोजगारीका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

बुटवलमा आवेदन दिएका अधिकांशलाई समेटेर एक हजार युवाको रोजगारी सुनिश्चित गरिएको लुम्बिनी प्रदेशको मेला संयोजक एजाज आलमले बताए । विराटनगरमा ४० युवाको रोजगारी सुनिश्चित गरिएको र दुई सय ५० युवालाई अन्तर्वार्ताका लागि बोलाइएको थियो । जनकपुरमा दुई सय ४७ युवा अन्तर्वार्ताका लागि छनोट भएका थिए ।

सुर्खेतमा दुई सय ६७ र धनगढीमा ११ सय ३३ लाई रोजगारी दिने भनेर विभिन्न उद्योग प्रतिष्ठानले प्रतिबद्धता जनाएका थिए । श्रममन्त्री डोलप्रसाद अर्यालले दक्ष युवालाई स्वदेशमै रोजगारी दिने उद्देश्यले १९ वैशाखमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर ‘श्रमाधान अभियान’ जारी गरेका थिए । लगत्तै उनले देशभरका उद्योग प्रतिष्ठानलाई चाहिने कर्मचारीको विवरण संकलन गरी सातै प्रदेशमा मेला आयोजना गरेका हुन् ।

श्रम मन्त्रालयले उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स, होटेल एसोसिएसनलगायत रोजगारी प्रदायक उद्योगीसँग समन्वय गरी मेला आयोजना गरेको छ । मेलामा रोजगारी दिन इच्छुक उद्योग तथा कम्पनीले स्टल राख्ने गरेका छन् ।


सातै प्रदेशमा श्रमाधान मेला
१७ र १८ जेठमा विराटनगरमा भएको मेलामा पाँच हजारभन्दा बढी सहभागी भएका थिए । स्वास्थ्य क्षेत्रमा ४२ र उत्पादनमूलक उद्योगमा दुई हजार चार सय ९५ गरी कुल दुई हजार पाँच सय ३७ जनाको रोजगारी माग भएकोमा दुई हजारले आवेदन दिएका छन् ।

जनकपुरमा १९ र २० जेठमा आयोजित मेलामा १४ उद्योग, चार होटेल, ११ तालिम प्रदायक संस्था, दुई बैंकसहित ३७ स्टल राखिएको थियो । त्यसैगरी, होटेलतर्फ एक सय पाँच, अटोमोबाइलमा ३५, बैंकमा २७, सेक्युरिटी गार्डमा ८० गरी कुल दुई सय ४७ लाई अन्तर्वार्ताका लागि समेत बोलाइएको थियो ।

पोखरामा २१ र २२ जेठमा आयोजित मेलामा सिजी ग्रुप, होङ्सी सिमेन्ट, होटेल सरोबरलगायत सरकारी र निजी क्षेत्रका गरेर कुल ४२ स्टल थिए । पाँच हजारले मेला अवलोकन गरेकोमा १३ सयले रोजगारीका लागि आवेदन दिएका छन् ।बुटवलमा २३ र २४ जेठमा आयोजित मेलाबाट एक हजारको रोजगारी सुनिश्चित भएको लुम्बिनी प्रदेशको मेला संयोजक एजाज आलमले दाबी गरेका छन् । यहाँ ४१ स्टल राखिएको थियो ।

सुर्खेतमा २५ र २६ जेठमा आयोजित मेलामा तीन हजार पाँच सयले अवलोकन गरेका थिए । विभिन्न पदमा दुई सय ६३ ले रोजगारीका लागि आवेदन दिएका छन् । चेम्बर अफ कमर्स, कर्णाली प्रदेशको पहलमा थप दुई सय ६७ लाई रोजगारीको प्रतिबद्धतासमेत जनाइएको छ ।

धनगढीमा २७ र २८ जेठमा आयोजित मेलामा अन्यको तुलनामा सबैभन्दा बढी भिड लागेको थियो । यसमध्ये चार हजार एक सय ६६ ले रोजगारीका लागि आवेदन दिएको र विभिन्न उद्योग प्रतिष्ठानले ११ सय ३३ लाई रोजगारी दिने प्रतिबद्धतासमेत गरेको मन्त्रायको भनाइ छ । ललितपुरको पाटन बहुमुखी क्याम्पसमा मंगलबारदेखि मेला सुरु भएको छ ।

Published on: 12 June 2024 | Naya Patrika

Link

Back to list

;