s

रोजगारी सिर्जनाका लागि कोशीमा ‘श्रमाधान रोजगार मेला’

विराटनगर : आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्दै वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन कोशी प्रदेशको राजधानी विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको संयोजनमा जेठ १७ र १८ गते दुई दिन मेलाको आयोजना हुन आँटेको हो ।

सरकारी र निजी क्षेत्रबीचको साझेदारी बढाउँदै रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको मेलामा आवश्यक सीप र क्षमता विकासका विषयमा पनि जानकारी गराइने छ । रोजगारीसँग जोडिएका समस्या र गुनासा सुनेर समाधानका प्रयास हुने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।

मेलाको मुख्य उद्देश्य रोजगारदाता र कामको खोजीमा रहेका युवालाई एउटै मञ्चमा मिलाउनु, युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्नु रहेको बताइएको छ । मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाल लगायतका ५० वटा स्टल रहने छ ।

औद्योगिक नगरीका रुपमा चिनिएको विराटनगरको स्थित सिटी पार्टी प्यालेसमा जेठ १७ र १८ गते मेला आयोजना हुने छ । मेलामा सात सय जनाको आवेदन आउने र कम्तिमा दुई सय ५० जनाले रोजगारी पाउने अनुमान आयोजकको छ ।

विराटनगरबाट सुरु हुने यो मेला देशका सातै प्रदेशमा दुई–दुई दिन सञ्चालन हुने बताइएको छ । बागमती प्रदेशमा जेठ ३० गते मेलाको समापन हुने छ ।

Published on: 29 May 2024 | Annapurna Post 

Link

Back to list

;