s

रोजगारी सिर्जना गर्न स्थिरता आवश्यक

काठमाडौं : देशमा स्थिर राजनीति र लगानीमैत्री वातावरण बन्न सके पर्याप्तमात्रामा रोजगारी सिर्जना गर्न सकिने सरोकारवाला निकायहरुले बताएका छन्। हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको मंगलबार ‘रोजगारी सिर्जनामा सरोकारवालाहरुको भूमिका’ विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमबजारमा आउने सबैलाई रोजगारी दिन सरकारले लगानीको वातावरण बनाउनुपर्ने र स्थिर राजनीति हुनुपर्ने बताए।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एव रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघाइले वार्षिक ४ लाखलाई रोजगारी दिने गरी महासंघले भिजन पेपर बनाउन लागेको बताए। ‘निजी औद्योगिक क्षेत्रबाट कुन कुन क्षेत्रमा श्रम बजारमा आउने सबैलाई रोजगारी दिन सकिन्छ भनेर योजना बनाइरहेका छौँ’, उनले भने।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) बाट वैदेशिक रोजगारी गुमाएर फर्केका स्वदेशमै रोजगारी गुमाएका र श्रम बजारमा आउने नयाँ श्रमिकहरुका लागि रोजगारी सिर्जना गर्न महासंघ सक्रिय रहेको उनको भनाइ छ। रोजगारी सिर्जनाका लागि निजी क्षेत्रले लगानी बढाउन जोड दिइरहेको उनले बताए। ‘लगानी तथा रोजगारी सिर्जनाको सम्बन्ध नङ र मासु जस्तै हो’, उनले भने, ‘लगानी बढ्ने वित्तिकै रोजगारी बढ्छ, तर लगानी गर्ने वातावरण सरकारले नबनाइ लगानी गर्न सकिंदैन।’ कोरोना महामारीको चपेटासँगै राजनीतिक अस्थिरता बढ्दै गएकाले लगानी र रोजगारीमा प्रत्यक्ष प्रभाव पार्नेमा उनको चिन्ता थियो।

नेपाल बचत तथा ऋण केन्द्रीय संघ(नेफ्स्कुन)का अध्यक्ष परितोष पौडेलले सहकारीमार्फत समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गरिने बताए। स्वदेशमै रोजगार तथा स्वरोजगारका अवसरहरु बृद्धि गर्न नेफ्स्कुनले विषेश योजना ल्याउन लागेको बताए। ‘हामीले दुई किसिमले रोजगारी सिर्जना गरिरहेका छौँ’, उनले भने, ‘सहकारीले १ लाखभन्दा बढी प्रत्यक्ष र करिब ६ लाखभन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ।’

आइएलओ र राष्ट्रिय युवा परिषद्सँग समन्वय गरेर रोजगारी सिर्जना गर्नतर्फ नेफ्स्कुन अघि बढेको उनको भनाइ छ। ‘हामीले १ लाख मान्छेहरुलाई स्वरोजगारी सिर्जना गर्ने उद्यमी बनाउने योजना अघि सारेका छौँ’, उनले भने। पछिल्लो पटक राष्ट्रिय युवा परिषदसँग मिलेर करिब २० करोड पैसा बिना ब्याजमा युवा उद्यमशीलता विकासका लागि लगानी गरेको उनले जानकारी दिए। अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) र युवा परिषदको साझेदारीमा उच्च स्तरका जनशक्ति उत्पादन गर्ने गरी प्रशिक्षकहरुलाई तालिम उपलब्ध गराउन सुरु गरेको उनले बताए। ‘स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न पालिकाहरुसँग समन्वय गरेर काम गरिरहेका छौं’, उनले भने। तर अहिले उद्यमशीलताको सन्दर्भमा कर्पोरेट मोडालिटीमा सहकारी जान नसकेको उनले बताए।

समग्रमा बचत तथा ऋण सहकारी अभियानमा ६ लाखभन्दा बढी उद्यमशीलता तथा स्वरोजगार सिर्जना गर्ने तयारी गरिएको तथा सिंगो सहकारी अभियान अन्तर्गत १० लाखभन्दा बढी स्वरोजगार सिर्जना भएको नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले बताए। त्यस्तै स्थानीय सरकारसँग समन्वय गरेर वैदेशिक रोजगारबाट फर्किएका तथा कोभिडका कारण सहरबाट गाउँ फर्किएकालाई गाउँमै स्वरोजगार सिर्जना गर्ने गरी अगाडी बढेको उनले उल्लेख गरे।

Published on: 31 December 2020 | Annapurna Post

Link

Back to list

;