s

रोजगारी सिन्डिकेट छानबिन गर्न समिति

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक २७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार रोजगारीको सिन्डिकेटबारे छानबिन गर्न समिति गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

कतार रोजगारीमा पठाउन केही सीमित व्यवसायीले सिन्डिकेट गर्न लागेको सम्बन्धमा छानबिन गर्न भन्दै प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएपछि श्रम मन्त्रालयले छानबिन समिति गठन गरेको हो । समितिलाई सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

नेपालबाट कतारमा श्रमिक पठाउनका लागि १७ वटा वैदेशिक रोजगार व्यवसायी

(म्यानपावर) कम्पनी सङ्गठित भई सिन्डिकेट गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै उजुरी परेपछि समितिले सो सम्बन्धमा छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो ।

यसअघि कतारमा रोजगारीका लागि श्रमिक पठाउन १७ वटा म्यानपावर कम्पनीको सूची बनाइएको समाचार सार्वजनिक भएको थियो । काठमाडौँस्थित कतारको दूतावास र कतार भिसा सेन्टरले मिलेमतोमा १७ वटा म्यानपावरको नाम छनोट गरी सिन्डिकेट कायम गरिएको जनाउँदै नेपाल वैदेशिक रोजगारी व्यवसायी सङ्घले यसको सत्यतथ्य छानबिनको माग गर्दै आएको छ ।

Published on: 12 November 2020 |  Gorkhapatra

Link

Back to list

;