s

रोजगारी र शिक्षामा विश्व बैंकको १६ अर्ब सहयोग

सरकार र विश्व बैंकबीच रोजगार सेवा सुधार र श्रम बजारमा युवाको सहभागिता उपलब्धिमूलक बनाउने सहमति भएको छ। यस्तै बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रममा पनि सहयोगलाई निरन्तरता दिने जनाएको छ। यससम्बन्धी

छुट्टछुट्टै सम्झौतामा बुधबार हस्ताक्षर भएको छ। अर्थसचिव राजन खनाल र विश्व बैंकका राष्ट्रिय व्यवस्थापक फारिस हदाद जर्भोसले यी सम्झौतामा हस्ताक्षर गरेका हुन्। युवा रोजगार तथा रुपान्तरण पहल (युथ इम्प्लोयमेन्ट ट्रान्सफरमेसन इनिसियटिभ– यति) नामक नयाँ कार्यक्रमका लागि विश्व बैंकले १३ अर्ब ७३ करोड रुपैयाँ ऋण दिएको छ। यसले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सशक्तीकरण गर्ने बताइएको छ। यो परियोजना अन्तर्गत ५ वर्षमा १ लाख युवा र खासगरी महिलाले रोजगारीको अवसर प्राप्त गर्नेछन्। यो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयन गर्न लागेको हो।

यति परियोजनाले ७ सय ५३ स्थानीय निकायमा रोजगार सूचना केन्द्र स्थापना गरी रोजगारीका अवसर वृद्धि गर्ने, रोजगारी सिर्जना गर्नेलाई मद्दत गर्ने र रोजगारको खोजीमा रहेकाको विवरण संकलन गरी उनीहरूका लागि उपयुक्त रोजगारीका अवसरका सम्बन्धमा जानकारी दिनेछ। कार्यक्रमले समग्रतामा राष्ट्रिय रोजगारी व्यवस्थापन सूचना प्रणालीलाई सहयोग गर्नेछ।

यस्तै विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमको निरन्तरताका लागि २ अर्ब ७४ करोड रुपैयाँ सहयोग दिने भएको छ। पूर्वबाल्यावस्था शिक्षा विकासका लागि सञ्चालन हुने यो कार्यक्रमबाट मुलुकभरका ३० हजार सामुदायिक विद्यालयका ७० लाख विद्यार्थी र एक लाख ८० हजार शिक्षक लाभान्वित हुनेछन्।

Published on: 28 November 2019 | Annapurna Post

Link

Back to list

;