s

रोजगारी खोज्न विदेशिने बढे

सिन्धुपाल्चोक, चैत १४ गते । सिन्धुपाल्चोकमा दैनिक ३८ जनाभन्दा बढीले राहदानी बनाउनेमध्ये अधिकांशले वैदेशिक रोजगारीमा जानका लागि बनाउने गरेका पाइएको छ। जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा राहदानी र नागरिकता बनाउनेको भीड लाग्ने गरेको छ।

सुरक्षित आप्रवासन परियोजना (सामी)को सुरक्षित वैदेशिक रोजगारसम्बन्धी तथ्याङ्कमा जिल्ला प्रशासन कार्यालयबाट दैनिक ३८ जनाभन्दा बढीले राहदानी बनाउने गरेको देखिएको हो। तीमध्ये ७० प्रतिशतभन्दा बढीले वैदेशिक रोजगारीमा जान राहदानी बनाउने गरेको उक्त संस्थाले जनाएको छ।

गत आर्थिक वर्ष २०७८/७९ मा सिन्धुपाल्चोकका दुई हजार १७७ जना महिलासहित छ हजार १८६ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए। चालु आवको गत फागुन महिनासम्ममा एक हजार ६६२ महिलासहित पाँच हजार ८७६ जनाले राहदानी बनाएर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले वैदेशिक रोजगारीका लागि र विदेशमा अध्ययनका लागि राहदानी बनाउन आउने गरेको जनाएको छ। मलेसिया, कुवेत, बहराइनलगायतका मुलुकमा रोजगारीका लागि जान राहदानी बनाउने महिला, पुरुषले दैनिक दुई दर्जन बढीभन्दा सङ्ख्यामा र अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका मुलुकमा अध्ययनका लागि भन्दै राहदानी बनाउने आउनेको सङ्ख्या पनि दैनिक एक दर्जन पुग्ने गरेको प्रशासन कार्यालयले जनाएको छ।

खाडी मुलुकमा जाने महिलाले आफू जाने देश र कामबारे सामान्य बुझाइ पनि नभई वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेको प्रशासन कार्यालयको भनाइ छ। जिल्लाका भोटेकोशी, हेलम्बु, पाँचपोखरी थाङ्पाल, लिसङ्खुपाखरलगायतका गाउँपालिकाका बस्तीका महिला तथा पुरुष बढी सङ्ख्यामा वैदेशिक रोजगारीमा जाने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Published on: 28 March 2023 | Gorkhapatra

Link

Back to list

;