s

रोजगारी गुमेर भारतबाट फर्केका ३५ परिवारलाई कुखुरा र माहुरीका घार

प्रेमनारायण आचार्य 

सन्धिखर्क : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भारतबाट कोरोनाका कारण रोजगारी गुमाएर फर्किएका परिवारलाई कुखुरा र आधुनिक माहुरीका घार नि:शुल्क वितरण गरिएको छ। भुमिकास्थान नगरपालिका-१ मा भारतबाट फर्किएर घरमा बसेकाहरुलाई स्वरोजगार बनाउन र आय आर्जनमा बृद्धि गर्नका लागि १५ घर परिवारलाई कुखुरा र २० घर परिवारलाई आधुनिक माहुरीका घार वितरण गरिएको हो।

जनचेतना सरोकार मञ्च अर्घाखाँचीले अक्सफार्म नेपालको सहयोगमा कोरोनाका कारण भारतबाट रोजगारी गुमाएर घर फर्किएका मौसमी प्रवासी कामदारहरु १५ घर परिवारलाई १ सय वटाका दरले स्थानीय जातका १५ सय कुखुराका चल्ला र २० घर परिवारलाई ५ वटाका दरले १ सय वटा आधुनिक माहुरीका घार वितरण गरेको जनचेतना सरोकार मञ्चका कार्यक्रम संयोजक युवराज ज्ञवालीले बताए।

परिवार पाल्न भारतमा गएको समयमा कोरोनाले घरमा फर्किएका परिवारलाई आयआर्जनमा सहयोग पुगोस् र घरको खर्च धान्ने माध्यम बनोस् भनेर माहुरीका घार र कुखुराका चल्ला वितरण गरेको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले बताए। अति विपन्न परिवार र आम्दानीको श्रोतपनि केहि नभएकोले यि परिवारलाई उपलब्ध गराएको नगर प्रमुख थापाको भनाई छ।

विपन्न एवं साना किसानलाई स्वरोजगारी बनाउन माहुरी पालन व्यवसायमा आवद्ध गराउन आधुनिक माहुरीका घार र कुखुरापालन व्यवसायमा आबद्ध गराई आयआर्जन बृद्धि गर्न सहज होस् भनेर कुखुरा वितरण गरेको जनचेतना सरोकार मञ्चका उपाध्यक्ष सुमित्रा कुमालले बताइन्।

एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख रेशम थापा र भुमिकास्थान नगरपालिका -१ का वडा अध्यक्ष भोजराज खनालले माहुरीका घार र कुखुरा वितरण गरेका थिए। जनचेतना सरोकार मञ्च अर्घाखाँचीले अक्सफाम नेपाल‍सँगको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित भारतमा मौसमी काम गर्ने प्रवासी परिवारहरुको आर्थिक पुनस्थापन शसक्तिकरण परियोजना अन्तरगत संस्थाको परियोजना क्षेत्र भित्रपर्ने जनचेतना महिला सहकारी संस्था लिमिटेड ढाकाबांगका सदस्यहरुको परिवारलाई माहुरीका घार र कुखुराका चल्ला  वितरण गरेको हो।

विपन्न अवस्थामा रहेका घर परिवारलाई तत्कालका लागि भन्दा पनि दीर्घकालका लागि सहयोग गर्नुपर्ने अवस्था रहेको छ। आय आर्जनका क्रियाकलाप के कस्ता हुन सक्छन् पहिचान गरी  दीर्घकालिन योजना बनाउनु पर्ने तर्फ स्थानीय निकायको ध्यान केन्द्रित हुन जरुरी छ।  कोरोनाका कारण धेरै परिवारले वैदेशिक रोजगार गुमाएकोले विपन्न समुदायका बारेमा बैलैमा सोच्न सकिएन भने समस्या विकराल हुने अवस्था छ।

जनचेतना सरोकार मञ्च र अक्सफार्मको सहयोगमा धारापानीको शसक्तिकरण महिला कृषि सहकारी संस्था, ढाकाबांगको जनचेतना महिला कृषि सहकारी संस्था र ढिकुराको गंगा जमुना महिला विकास कृषि सहकारी सस्था, सरोकार सामाजिक उधमि महिला सहकारी सस्था लिमिटेड जुकेना, जालकाडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड खन र अन्नपूर्ण कृषक सहकारी सस्था लिमिटेड हंसपुरले विदेसबाट पठाएको पैसा मात्र हैन, विद्युतको महसुल तिर्ने, मोबाइल रिचार्ज गर्ने, डिसहोर्मको रिचार्ज गर्ने जस्ता सेवाको स्थानीयहरुले भरपुर उपयोग गरेका छन्।

Published on: 31 December 2020 | Annapurna Post

Link

Back to list

;