s

रोजगारी विदेशमा, विकास गाउँमा

युवाहरु वैदेशिक रोजगारीमा किन जान्छन् ? यसको सहजै उत्तर आउँछ-पैसा कमाउन, घर चलाउन। त्योभन्दा प्रगति गर्नेले सहरमा जमिन र घर किनेका हुनसक्छन्। तर, माइमझुवाका युवा समाजसेवाका लागि विदेशिन्छन् भनेको सुन्दा पत्याउन गाह्रो पर्छ। यहाँका युवा विभिन्न मुलुकमा रोजगारी गरेर कमाएको रकम गाउँकै विकासमा खर्चिरहेका छन्।

सदरमुकामबाट करिब ३१ किलोमिटरमा रहेको दुर्गम गाउँ हो मायमझुवा। खोलानाला धेरै रहेको यो गाउँमा कच्ची मोटरबाटोको सुविधा भर्खरै पुग्दैछ। तर, भारतीय र बेलायती सेनामा रहेका स्थानीय युवाको पहलमा गाउँ अहिले झलमल्ल छ। गाउँमा पुल, विद्यालय, सामुदायिक भवन, बाटोघाटो, पाटी-पौवा बनेका छन्। खानेपानी, शौचालयको सुविधा प्रत्येकजसो घरमा छ।

यहाँका विदेश गएका युवाले ब्रिटिस वेलफेयर र भूतपूर्व गोर्खा सैनिकहरुको संस्था कादुरीजस्ता संस्थाहरुसँग मिलेर गाउँको विकास गरेका हुन्। स्थानीय अगुवा तुलाराम गुरुङ भन्छन्, ‘विदेश जाने युवा गाउँका लागि बरदान भएका छन्। उनीहरुकै लगानीले दुर्गम गाउँ सहर झैं भएको छ।' यसरी विदेशिने युवाले व्यक्तिगत रकम पनि पनि गाउँको विकासमा खर्चेको स्थानीय बताउँछन्।

गाउँका सबैजसो घरका युवा लाहुर गएका छन्। ‘लाहुरे गाउँ' भनेर चिनिने यहाँ फाट्ट-फुट्टबाहेक लाहुरेहरु भने भेट्न सकिँदैन। गाउँको विकासमा रकम खर्चने युवाहरु घर र जमिन किनेर धरान, काठमाडौं, विर्तामोड र इलाम सदरमुकामतिर बसेका छन्। तर, उनीहरुले वर्षेनीजसो जन्मगाउँका लागि कुनै न कुनै रुपमा सहयोग भने गर्दै आएको स्थानीय अमृत राईले बताए। उनले भने, ‘यहाँबाट बाहिर गएपनि उनीहरुले गाउँ विर्सेका छैनन्। बेला-बेला आइरहन्छन्।'

विभिन्न खोलाहरुबाट लघु जलविद्युत र पेलिट्रकसेट निकालिएको छ। देशभर हुने पटकपटकको लोडसेडिङको मार यहाँका बासिन्दाले खेप्नु परेको छैन। १६ किलोवाट क्षमताको मेवाखोला लघु जलविद्युत आयोजनाले वडा नम्बर ८ र ९ का एक सय ३४ घरपरिवारले उज्यालो पाएका छन्। स्थानीय इच्छाबहादुर राईले कादुरीको एक करोड २० लाख रुपैंयाँ तथा पाँच लाख ४२ हजार सात सय रुपैयाँ बराबरको जनश्रमदानबाट आयोजना निर्माण भएको हो।

गाउँमै ३० किलोवाट क्षमताको रातेखोला लघु जलविद्युत, सात किलोवाट क्षमताको रातेखोला पेल्ट्रिसेटको भएको छ। सबै घरलाई पुग्ने गरी १६ देखि ३० किलोवाट क्षमताका आधा दर्जन मसिना जलविद्युत उत्पादन गरिएको छ। युवाहरुकै पहलमा सातवटा स्टिल डेक भएका झोलुंगे पुल र एउटा पक्की पुल बनेका छन्। गाउँमा आधा दर्जन विद्यालयहरुको भवन बनेका छन्। दर्जनौं खानेपानी योजना सञ्चालन भएपछि गाउँ सम्पन्न छ।

स्थानीय तीन सयभन्दा बढी युवाहरु अहिले पनि सिंगापुर, बेलायत र भारतमा रोजगारी (सेना, प्रहरी) मा गएका छन्। लाहुर जानु तीमध्ये आधाजसोको पुख्र्यौली पेसा नै हो। तुलाराम भन्छन् ‘तीन-चार पुस्ता पहिलेदेखि नै लाहुर जानेहरु छन्। उनीहरुको पुख्यौंली पेसा नै यही बनेको छ।'

अघिल्लो पुस्ताका लाहुरे र हाल सेवारत लाहुरेहरुको प्रयासले विकासमा सहयोग पुगेको हो। भौगोलिक रुपले विकट भएकाले माइमझुवमा सरकारले विकास पु¥याउन निकै समय लाग्न सक्ने भएपनि लाहुरेकै पहलमा गाउँको तीब्र विकास भएकामा स्थानीय हर्षित छन्। कादुरी र वेलफेयरको सहयोगमा गाउँको विकासका लागि करोडौं खर्च भएको छ।

Published on: 16 January 2013 | Nagarik

Back to list

;