s

रोजगारदाताले श्रमिक भेट्दैनन्, श्रमिकले रोजगारदाता

विराटनगर — विराटनगरका गोपाल केसीले ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ को स्टलमा मोटरसाइकल बनाउने सीप सिक्न भन्दै आफ्नो नाम टिपाए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा विराटनगरमा बिहीबार र शुक्रबार आयोजित 'श्रमाधान रोजगार मेला'को पहिलो दिनमा केसी त्यहाँ पुगेका थिए ।

‘म ७ महिनादेखि बेरोजगार छु । काठमाडौंमा एउटा होटलमा कुकको काम गर्थे । होटलमा दैनिक १८–१९ घण्टा खट्नुपर्छ । थोरै तलबमा धेरै लामो समय काम गर्नुपर्छ । त्यो काम पनि टुट्यो । घर आएदेखि काठमाडौं फर्केको छैन,’ मेलामा भेटिएका केसीले कान्तिपुरसँग भने,‘यहाँ काम पाइन्छ भनेर आएको थिएँ । आफ्नो सीपअनुसार काम नपाइने भएपछि मोटरसाइकल बनाउने तालिमको लागि नाम टिपाउनुपर्‍यो ।’

हेल्भटासको प्राविधिक सहयोगमा सामाजिक विकास मन्त्रालयले, कोशीले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजन मार्फत औद्योगिक प्रशिक्षार्थी तालिम दिइरहेको छ । ‘धेरै थरीका तालिम रहेछन् । अरुभन्दा मोटरसाइकल बनाउने तालिम नै सिकेर काम गर्न मन लाग्यो,’ उनले भने,‘अहिलेसम्म वैदेशिक रोजगारीमा गइनँ । गाँउ ठाउमै काम गर्न मन लाग्छ । सोचेको जस्तो काम पाइँदैन ।’

विराटनगर–८ का गौलाकुमार दास र महुबुब आलमसँग हातमा सीप छ । तर काम छैन । दुई जना नै भवनमा विद्युत् जोड्ने काममा पोख्त छन् । ‘सीटीईभीटीले हामीजस्ता धेरै जनशक्ति उत्पादन गर्‍यो । उत्पादित जनशक्तिले काम पाएको छैन । विराटनगरमा एउटा घर बनिरहेको छ भने काम माग्न १० जना पुगेको हुन्छ,’ दासले भने,‘ठूलो उद्योगधन्दा छैन । सानातिनाले धेरै मान्छेलाई काम दिनै सक्तैन । हातमा प्रमाणपत्र बोकेर मात्रै हुँदैन ।’

आलामले आफुहरु दीर्घकालिन रोजगारीको खोजीमा रहेको बताए । ‘हामीलाई चाहिएको काम भनेको १२ वटै महिनामा हो । एकदुई महिना त काम पाइन्छ । यसले के हुन्छ,’ आलमले भने,‘सधैं काम भइरह्यो भने यताउती भौंतारिइराख्नु पर्दैन ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा खटिएका रोजगार संयोजकले आफ्नो पालिकाभित्र रहेको बेरोजगारको लागत राख्ने काम गर्छ । चालु आर्थिक वर्षमा कोशीमा मात्रै एकलाख १० हजार ९ सय ८३ जना सूचीकृत बेरोजगार छन् । जसमा पुरुष ५९ हजार ३ सय ४० जना र महिला ५१ हजार ६ सय १२ जना रहेका छन् । अन्यमा ३१ जना छन् । जसमध्ये स्थानीय तहबाट सञ्चालित १७ सय ५७ आयोजनामा ५२ सय ५४ जनाले ७८ दिन मात्रै काम पाए ।

पूर्वको औद्योगिक क्षेत्रमा पहिलेजस्तो रोजगारी पाइँदैन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीकाअनुसार औद्योगिकीकरण दिनप्रतिदिन खुम्चिँदै गइरहेको छ । ‘रोजगार पाउनको लागि राष्ट्रिय पुँजी बलियो हुनुपर्छ । नीजि क्षेत्रले लगानी बढाउनुपर्छ । लगानी नभएपछि उद्योग कलकारखाना खुल्दैन । उद्योग कलकारखाना नखुलेपछि रोजगार पाइैदँन,’ उनले भने,‘ऋण प्रवाहमा भएका नीतिगत कमजोरीले रोजगारदाताले घाटा ब्योहोर्नु परिरहेको छ ।’

राष्ट्रिय श्रम सर्वेक्षण–२०१७ का अनुसार कोशीमा १२ लाख ८ हजार श्रमशक्ति रहेका छन् । जसमा औपचारिक क्षेत्रमा चार लाख ४४ हजार (१५.२) रहेका छन् । अनौपचारिक क्षेत्रमा ७ लाख ६४ हजार (८४.८)रहेका छन् । वेरोजगार दर १०.२ प्रतिशत रहेको छ । औपचारिक क्षेत्रमा काम गर्न निकै कठिन छ । औपचारिक क्षेत्रमा काम नपाएपछि वैकल्पिक रोजगारको लागि अनौपचारिक क्षेत्रमा काम गर्न बाध्य भएका हुन् । अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारले सामाजिक सुरक्षाको सुनिश्चिता छैन । जसमा वार्षिक बिदा र विरामी बिदासम्बन्धीका सुबिधाहरु पाइरहेको हुँदैन । कामदारहरु आफ्नो जिम्मेवारी आफैं बोक्ने गरेका छन् ।

‘कोशी क्षेत्रमा जति अवसर छ । त्यो पनि सीमापारीका नागरिकहरुका बाहुल्यता छन् । उनीहरु हामीभन्दा सस्तोमा काम गरिदिन्छन् । रोजगारदाताले हाम्रो सट्टा उनीहरुलाई रोजिदिन्छन् । उनीहरुलाई सामाजिक सुरक्षा पनि दिनुपर्दैन । बिरामी बिदा र उपदान पनि दिनुपर्दैन,’ दासले भने,‘यो ठाँउका मान्छे विदेश उड्नुपरेको छ । यो ठाउँमा सिमापारीबाट काम खोज्न आउँछन् ।’

आर्थिक वर्ष २०७८/७९ मा १० हजार महिलासहित ७० हजार जना नयाँ श्रमस्वीकृति लिई वैदेशिक रोजगारीमा गएका थिए । त्यसरी वैदेशिक रोजगारीमा जाने प्रमुख १० जिल्ला भित्र कोशीको झापा (३.९ प्रतिशत), मोरङ (३.६ प्रतिशत) र सुनसरी (३.१) प्रतिशत रहेका छन् ।

वैदेशिक रोजगारीमा जानेमा अदक्ष ५२.१ प्रतिशत, अदक्ष ७.६ प्रतिशत, दक्ष ४०.२ प्रतिशत, उच्च दक्षमा ०.०१ प्रतिशत र प्रोफेसनल ०.०४ रहेका छन् । सीपयुक्त नहुदाँ उचित तलब तथा सेवासुविधा पाइरहेको छैन । अर्कोतर्फ वैदेशिक रोजगारीबाट फर्केकाहरुले काम पाउने गरेको छैन । कतारबाट फर्केका कानेपोखरी गाँउपालिका–२ का पासाङ तामाङले एक वर्षदेखि घरमै बसिरहनुपरेको बताए । ‘मैले साउदी अरब र कतारमा ४/४ वर्ष काम गरें । त्यहाँ एसी मेकानिक्सको काम गर्थें । त्यहाँ जानेको सीप विराटनगरमा प्रयोग भएन,’ उनले भने,‘रोजगार कहाँ पाइन्छ भनेर भौतारिँदै हिँड्नुपरेको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार रोजगारदाता र श्रमिकबीच भेट हुन सकिरहेको छैन । ‘हामीसँग काम छ । श्रमशक्ति चाहिएको छ । तर हामीले चाहेको जनशक्ति भेटिइरहेको छैन,’ उनले भने,‘यो खाडललाई पुर्न जरुरी छ । सरकारले रोजगारी सिर्जना गर्नको लागि घरेलु लगानीकर्तालाई प्रोत्साहन दिने वातावरण बनाइदिनुपर्‍यो ।’

कोभिडपछि मात्रै कोशी प्रदेशका ३ हजार महिलासहित एकलाख ३५ हजार जना वैदेशिक रोजगारबाट फर्किएका थिए । उनीहरुलाई स्थानीयस्तरमा नै सामाजिक आर्थिक पुन: एकीकरण गर्न तीनै तहका सरकार असफल छ । ‘हामीले सिकेको सीपको प्रमाणीकरण कतै छैन । सीप नभएका मान्छेको रुपमा दर्ज छौं,’ राहदानी, नागरिकता र विदेशमा सिकेको सीपको प्रमाणपत्र बोकेर आएका भीमबहादुर तामाङले भने ।

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्केका श्रमिकको सामाजिक आर्थिक पुनः एकिरण कार्यक्रम सुरु गर्न कोशीसहितका ८१ स्थानीय तहमा कार्यक्रम सुरु गर्न हस्ताक्षर गरेको थियो । तर कार्यक्रम पभावकारी कार्यान्वयन हुन सकेको छैन ।

मेलाको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल रोजगार बैंकको स्थापना गरि रोजगारीसम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार गरिने सरकारको नीति रहेको बताउँछन् । ‘श्रम बजारमा उपलब्ध रोजगारीको अवसर तथा जनशक्तिको माग र आपूर्तिलाई स्वचालित प्रणालीमा आबद्ध गरिने गरी रोजगार बैंक स्थापना हुन्छ,’ उनको भनाई थियो,‘श्रम र रोजगारीसम्बन्धी सेवाप्रवाह र गुनासोको सम्बोधनको श्रमाधान कार्यक्रम सञ्चालन गरिएको छ । यो राज्यको प्राथमिकताभित्र पर्छ ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल आन्तरिक श्रम बजारमा विदेशी कामदारले अवसर लिइरहेको बताउँछन् । ‘विदेशी कामदार नेपाल आइरहेका छन् । नेपाली बाहिर गइरहेको छ । यो किन भयो ? समस्या कहाँ छ ? यसको पहिचान गर्नुपर्छ’, अर्यालले भने,‘रोजगारदाताले नेपाली श्रमिक खोजिरहेको छ । श्रमिकले रोजगारदाता पाइरहेको छैन । यसको खाडल कहाँ छ ? हामी पुलको काम गर्छौं ।’

Published on: 4 June 2024 | Kantipur

Link

Back to list

;