s

रोजगारदाता र बेरोजगारबीच सम्पर्क गराउन श्रम सूचना बैंक स्थापना गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले आगामी वर्षमा रोजगारी प्रबर्धन गर्नका लागि रोजगार सूचना बैंक स्थापना गर्ने भएको छ । यस्त सूचना बैंकले रोजगारीको खोजीमा रहेका र रोजगारदाताबीच सूचना आदानप्रदान गरेर सम्पर्क गराउने व्यवस्था गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा जानकारी दिएकी छन् ।

सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना भइसकेको अवस्थामा त्यसलाई थप प्रभावकारी गराउनका लागि उक्त बैंक स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सीप र क्षमताको विकास गर्न श्रम सूचना केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रम सरकारको रहेको छ ।

त्यस्तो सूचना बैंकमा रोजगारिको खोजीमा रहेकाहरूको व्यक्तिगत विवरण संकलन गर्ने सरकारको योजना रहेको छ ।

त्यस्तै, वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सीप र क्षमता प्रयोग गरी रोजगारी प्रबर्धनका लागि सरकारले बजेट उपलब्ध गराउने नीति लिने भएको छ । त्यस्तै, शिक्षित बेरोजगारका लागि शैक्षिक प्रमाणपत्रको आधारमा सहयोग गर्ने नीति यसपालि पनि नियमित गर्ने भएको छ । युवाहरूले आफ्नो शैक्षिक विषयसँग मेल खाने परियोजना ल्याउन उप्रेरित गर्दै बजेट पनि व्यवस्थापन गर्ने सरकारले नीति लिने भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइने भएको छ । उक्त कार्यक्रमलाई अन्य रोजगारीका कार्यक्रमहरूसँग जोडेर अगाडि बढाउने योजना रहेको सरकारको नीति रहेको छ । यसलाई मूलतः बेरोजगार लक्षित गर्ने सरकारको नीति रहेको छ ।

यो कार्यक्रमको विगतमा आलोचना भएको थियो । अनुत्पादक क्षेत्रमा राज्यको पुँजी खेर फालेको भन्दै यो कार्यक्रमको आलोचना भएको थियो ।

Published on: 15 May 2020 | Kantipur

Link

Back to list

;