s

‘रोजगारदाता र श्रमिकबिच जोड्ने पुलको प्रयास’

सुर्खेत, जेठ २६ गते । सुर्खेतमा श्रमाधान रोजगार मेला सुरु भएको छ । शनिबारसम्म आयोजना हुने यो मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजना गरिएको हो । देशभरका सात वटै प्रदेशमा आयोजना गरिएको रोजगार मेला सुर्खेतमा दुई दिन सञ्चालन हुँदै छ ।

मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोरप्रसाद आर्यालले रोजगारदाता र श्रमिकबिच जोड्ने पुलको प्रयास गरिएको बताउनुभयो । कायक्रमस्थलबाटै जागिर पाउने व्यवस्था मिलाउन आगामी दिनमा पालिकास्तरमै कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । चार प्रदेशमा भएको कार्यक्रम उपलब्धिमूलक भएको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले कर्णाली आफैँमा सम्भावना बोकेको कर्णालीलाई भाषणमा मात्रै भनिरहेको बताउँदै अब व्यावहारिक रूपमा प्रवर्धन गर्दै समृद्धि हासिल गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मेलाले सिप विकास र युवा जनशक्तिलाई रोजगारी प्रदान गर्ने अपेक्षा लिएको बताउनुभयो । उहाँले रोजगार भन्नेबित्तिकै विदेश जाने भन्ने सोचलाई बदल्नुपर्ने भन्दै अहिले विदेश पठाउनेहरू जनताको घरटोलमै पुग्ने गरेको टिप्पणी गर्नुभयो । श्रम बजारमा रहेको अवसरलाई पहिचान हुन नसकेको अवस्थामा आन्तरिक श्रम बजारमा विदेशी श्रमिकको सङ्ख्या बढ्दै गएको भन्दै यसमा नेपाली श्रमिकको सङ्ख्या बढाउन मेलाले मद्दत पुग्ने अपेक्षा गर्नुभयो ।

उहाँले रोजगारी परिचालनका लागि पहिलो काम शिक्षा प्रणालीमा सुधार ल्याउन आवश्यक रहेको औँल्याउनुभयो । आवश्यक परामर्श सेवासहितको रोजगार आवश्यक छ । कामको सम्मान गर्ने संस्कार बस्न सकेको छैन । सामाजिक रूपमा युवा ससाना काम गर्नेभन्दा पनि जोखिमपूर्ण भए पनि बिदेसिनेमा आकर्षण भएको देखिन्छ । सिपविहीन नेपालीको ठुलो लर्को बिदेसिने अवस्था छ । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “यी सबै पक्षमा सुधारका लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन आवश्यक छ ।”

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत रोजगारीलाई समेटिएको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो । मुख्यमन्त्री रोजगार कार्यक्रमलाई थप व्यवस्थित गरी सबै वडाका नागरिकलाई प्रत्यक्ष आबद्ध गराउने नीति लिइएको छ । सिप सिकेको युवालाई सामूहिक रूपमा वस्तु विकास गर्न प्रशिक्षण कक्ष, कोसेली घर, लघुऔद्योगिक ग्राम स्थापना केन्द्र सञ्चालन गरी रोजगार केन्द्रित कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको छ ।

शनिबारसम्म सञ्चालन हुने मेलामा विभिन्न ४० वटा रोजगारदाताका स्टल रहेका छन् ।

Published on: 10 June 2024 | Gorkhapatra

Link

Back to list

;