s

रोजगार विभागमा सेवाग्राहीलाई सास्ती

वैदेशिक रोजगार विभागमा नयाँ व्यवस्था सुरु गरिएकै दिन (आइतबार) आन्तरिक तयारी नभएकाले सेवाग्राही कामदारले सास्ती पाएका छन्। 

तीन दिन लगातारको बिदापछि आइतबार खुलेको विभागमा २ हजारभन्दा बढी कामदार पुनः र अन्तिम श्रम स्वीकृति लिन लामो लाइनमा बसेका थिए। दिउँसो १२ बजेसम्म कर्मचारी नआउँदा विदेश उड्नु पर्ने कामदार समेत प्रभावित भए। समयमा काम नभएपछि केही कामदारले विभाग परिसरमा नै होहल्ला गरेका थिए।

श्रम तथा रोजगार मन्त्रालयले गठन गरेको कार्यदलले वैदेशिक रोजगार विभागको कार्यलाई थप चुस्त दुरुस्त एवं गुनासोरहित बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि प्रारम्भिक प्रतिवेदन बुझाएपछि विभागमा आइतबारदेखि नै नयाँ पद्धतिमा काम सुरु गर्न खोजिएको थियो। कर्मचारी समयमा नआएकाले सेवाग्राहीले समयमा काम लिन सकेनन्।

विभागमा कामदार धेरै जाने मुलुक मलेसिया, कतार, साउदी अरब, कुवेत, ओमान, युएईलगायत अन्य मुलुकको काम पनि गर्ने गरी ४ वटा नयाँ शाखा सुरु गरिएको छ। नयाँ शाखा सुरु गरिए पनि कर्मचारीको व्यवस्थापन हुन नसक्दा कर्मचारी र सेवाग्राही दुवै अलमलमा परे। नयाँ शाखाको मलेसिया र कतार साथै व्यक्तिगत श्रम स्वीकृति शाखामा १२ बजेसम्म पनि कर्मचारी आएका थिएनन्।

गत साता श्रम विभागका महानिर्देशक कृष्णहरि पुस्करको संयोजकत्वमा गठित कार्यदलले पेस गरेको प्रतिवेदनमा आइतबारदेखि नै लागू हुने गरी वैदेशिक रोजगार विभागको अन्तिम स्वीकृति शाखाको कार्यलाई 'वान मेन सेट क्लिरेन्स' को अवधारण बमोजिम जिम्मेवारी दिइने भनिए पनि कर्मचारी व्यवस्थापन नहुनाले काम हुन सकेन। त्यस्तै कर्मचारीलाई आकस्मिक खटनपटन गराई कामको प्रकृति र शाखा परिवर्तन गराइने भनिए पनि नयाँ कर्मचारीले तत्काल काम गर्ने नजान्ने भनेर आकस्मिक खटनपटन समेत गरिएन।

वैदेशिक रोजगार विभागका महानिर्देशक रविन्द्रमोहन भट्टराईले लगातारको बिदापछि विभाग खुलेका कारण ठूलो भीड भएको र आइतबारदेखि नै नयाँ व्यवस्था भएकाले कर्मचारी व्यवस्थापन हुन नसकेको बताए। आइतबारदेखि नै ४ नयाँ शाखा थपेको हुनाले त्यसको आन्तरिक व्यवस्थापन र कुन कर्मचारीलाई कुन ठाउँमा राख्ने भन्ने मिलाउन गाह्रो भएकाले समयमा कर्मचारी नपुगेको उनले बताए।

उपत्यकामा नै ४ शाखा कार्यालय खोल्ने योजना भए पनि भवन खोजी भइरहेको भन्दै विभाग परिसरमा नै शाखा खोलिएको हो। त्यस्तै उपत्यकाबाहिर क्षेत्रीय कार्यालय खोल्ने तयारी पनि भएको छ। पोखरा, नेपालगन्ज र विराटनगरमा पनि क्षेत्रीय कार्यालय खोल्ने तयारी छ।

विभागमा ९३ जना कर्मचारी कार्यरत छन्। ९३ जना कर्मचारीले दैनिक १५ सय सेवाग्राहीलाई सेवा दिँदै आएका छन्।

पुसमा आधा लाख बिदेसिए

कामको खोजीमा पुुस महिनामा मात्र आधा लाखभन्दा बढी नेपाली बिदेसिएका छन्। त्यस्तै आर्थिक वर्षको ६ महिनामा २ लाख २५ हजार नेपालीले देश छोडेका छन्।

देशमा रोजगारीको अवसर नहँुदा बिदेसिने कामदार बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको हो। पुसमा बाहिरिएका कामदारको संख्या अन्य महिनाको भन्दा उच्च हो। पुसमा ५० हजार ३२ जना नयाँ कामदार र ६ हजार ९ सय १ जना कामदार विगतमा श्रम स्वीकृति नलिई विदेश गएको र बिदा आई पुनः श्रम स्वीकृति लिई वैधानिक रुपमा गरी ५६ हजार ९ सय ३३ जना कामदार बिदेसिएका हुन्। अघिल्लो वर्ष पुस महिनामा ४० हजार ८ सय ६४ युवा मात्र विदेशिएका थिए।

६ महिनामा सबभन्दा धेरै नेपालीले मलेसियालाई प्रमुख गन्तव्य बनाएका छन्। मलेसिया ३५ हजार ८ सय ४ कामदार पुगेका छन्। त्यस्तै साउदी अरबमा १५ हजार १ सय ४, कतारमा २२ हजार ७ सय ५५, सयुक्त अरब इमिरेट्समा ९ हजार ५ सय ७७, कुवेतमा ४ हजार ८ सय २२, दक्षिण कोरियामा १ हजार १ सय १४ कामदार कामको खोजी गएका छन्।

Published on: 3 February 2014 | Nagarik

Back to list

;