s

रोजगार संयोजकमा ५२१ उत्तीर्ण

७५३ वटै स्थानीय तहमा रहने रोजगार सेवाकेन्द्रको प्रमुख रोजगार संयोजक परीक्षामा ५ सय २१ जना उत्तीर्ण भएका छन् । नायब सुब्बा तथा शाखा अधिकृतसरहको सो पदका लागि १ हजार ८६८ परीक्षार्थी सहभागी भएका थिए । विस्तृत नतिजा प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा राखिएको छ । अन्तिम छनोटमा परेका उम्मेदवारहरूलाई करार सम्झौता गरी योग्यताक्रमअनुरूप आफूले रोजेको स्थानीय तहमा काम गर्न अवसर दिइने बताइएको छ । ७ दिनभित्र करार सम्झौता सम्पन्न गरी तोकिएको जिम्मेवारीसहित सम्बन्धित स्थानीय तहमा खटाइनेछ ।

छनोट प्रक्रिया पूर्णतः सूचना–प्रविधिमा

१ फागुनदेखि सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सरकारले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको प्रमुखका रूपमा रहने रोजगार संयोजकको पदपूर्तिको प्रक्रिया अगाडि बढाएको थियो । मन्त्रिपरिषद्ले स्वीकृत गरेको मापदण्डअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ माघमा ७५३ रोजगार संयोजकका लागि आवेदन माग गरेको थियो ।

त्यसअनुसार २३ हजार ९६८ जनाको आवेदन परेकोमा प्रारम्भिक योग्यताक्रममा २ हजार २६५ जना उम्मेदवार छानिएका थिए । छानिएका उम्मेदवारको शनिबार र आइतबार अन्तिम छनोटका लागि अनलाइन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षणको परीक्षा लिइएको थियो । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको ५० पूर्णांकको उक्त परीक्षामा उत्तीर्ण हुन २५ अंक ल्याउनुपर्ने व्यवस्था गरिएको थियो ।

निष्पक्ष तथा पारदर्शी रूपमा योग्य र सीपयुक्त कर्मचारी भर्नाका लागि पहिलोपटक पूर्ण विद्युतीय भर्ना प्रणाली अपनाइएको मन्त्रालयले जनाएको छ । संयोजक छनोटका लागि मन्त्रालयका सचिव महेश दाहालको संयोजकत्वमा लोकसेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरूको प्रतिनिधित्व रहेको पदपूर्ति निर्देशक समिति गठन गरिएको थियो ।

Published on: 26 February 2019 । Nayapatrika

Back to list

;