s

रोजगार खोज्दै भौतारिरहेका युवालाई ब्लड क्यान्सर, उपचारमा समस्या

बुटवल : रोजगारी कता पाइएला भन्दै भौतारिरहेका नौवहिनी गाउँपालिका–६ लुङ प्यूठान निवासी २९ वर्षीय प्रकाश केसीलाई ब्लड क्यान्सर भएपछि उपचारका समस्या भएको छ।

एक महिनासम्म ज्वरो निको नभएपछि उपचार गर्न बुटवल आएका उनलाई ब्लड क्यान्सरको शंका गरिएको थियो। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चेकजाँच गराउँदा उनलाई ब्लड क्यान्सर भएको पत्ता लागेको हो।

घरको आर्थिक अवस्था कमजोर भएपछि उनको उपचारमा समस्या भइरहेको घरपरिवारले जनाएका छन्। नौ वर्षअघि आमा तारा केसीको उपचारका क्रममा मृत्यु भएको र वृद्ध बुवा लक्ष्मण केसीको पालनपोषण गर्ने जिम्मेवारी उनकै काँधमा थियो। बुवा पनि घरमा बिरामी छन्।

उनका श्रीमती र नावालक तीन छोरी छन्। उनीहरूको पनि हेरचाह गर्ने जिम्मेवा सहित रोजगार नपाएर भौतारिएका केसीलाई एक्कासि ब्लड क्यान्सर भएपछि उपचारमा समस्या भएको जेठान दाइ भरत केसीले बताए।

‘डाक्टरहरूले उपचारमा करिव २५ देखि ३० लाख रुपैयाँ लाग्ने भन्नुभएको छ’,उनले भने,‘सात लाख रुपैयाँ जति खर्च भइसक्यो। अरू पैसा जुटाउन समस्या भयो।’ केही दिन भेन्टिलेटर र अहिले आइसियूमा राखेर उनको उपचार चलिरहेको केसीले जानकारी गराए। काठमाडौंको एक प्रेसमा काम गर्ने उनी दसैंपछि घरमै बेरोजगार थिए। उनले केही वर्षअघि प्यूठानमा पत्रिका वितरकको रुपमा समेत काम गरेका थिए।

प्रकाश घरका कान्छा छोरा हुन्। जेठो दाइ गोविन्द केसी भारतमा काम गर्ने क्रममा नालीमा खसेर मृत्यु भयो। साइला दाइ सुशील केसीलाई मानसिक समस्या छ। माइला दाइ रमेश केसी भारतमा मजदुरी गर्छन्। केसीको जीवन बचाइदिन सार्वजनिक रुपमा अपिल समेत गरिएको छ।

Published on: 29 December 2023 | Annapurna Post

Link

Back to list

;